२०८२ फागुन १७ आइतबार

अष्ट्रेलियन क्रिकेटको राष्ट्रिय टिममा दिपक क्षेत्री,नेपाली समुदायका लागि ऐतिहासिक गौरव

  • admin २०८२ फागुन १७ आइतबार

एडिलेड, अष्ट्रेलिया – अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायका लागि गर्व र प्रेरणाको समाचार सार्वजनिक भएको छ। नेपाल प्रिमियर लिगअन्तर्गत Kathmandu Gurkhas का प्रबन्धक तथा अनुभवी क्रिकेटर दीपक क्षेत्री अष्ट्रेलियाको ४० वर्षमाथिको राष्ट्रिय ‘अष्ट्रेलिया ए’ मास्टर्स टोलीमा छनोट भएका छन्। उनी आगामी अप्रिल १ देखि १२ सम्म दुबईमा आयोजना हुने Cricket Australia Masters Over-40 Dubai Tour मा अष्ट्रेलियाको प्रतिनिधित्व गर्ने टोलीमा समावेश भएका हुन्।

यो उपलब्धि केवल व्यक्तिगत सफलता मात्र होइन, अष्ट्रेलियास्थित सम्पूर्ण नेपाली समुदायको पहिचान र गर्वको प्रतीक पनि बनेको छ। क्षेत्री अष्ट्रेलियाको ओभर–४० राष्ट्रिय टोलीमा स्थान बनाउने पहिलो नेपाली मूलका खेलाडी बनेका हुन्।

गत महिना एडिलेडमा सम्पन्न राज्यस्तरीय भेट्रान क्रिकेट प्रतियोगितामा उनले साउथ अष्ट्रेलियाको टोलीका लागि उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा New South Wales लाई पराजित गर्न निर्णायक भूमिका खेले। यस प्रदर्शनले उनको राष्ट्रिय टोलीमा छनोटको मार्ग अझ बलियो बनाएको थियो।दीपक क्षेत्री २००८ देखि साउथ अष्ट्रेलियाका विभिन्न क्लबहरूमा सक्रिय रहँदै आएका छन्। उनी २०११/२०१२ मा एडिलेड विश्वविद्यालय क्रिकेट क्लबबाट पहिलो श्रेणी प्रिमियर क्रिकेटमा डेब्यू गरेका थिए भने अहिले दोस्रो श्रेणीको प्रिमियर क्रिकेट टोलीका कप्तानको रूपमा खेलिरहेका छन्। पछिल्ला दिनहरूमा उनी नियमित प्रशिक्षणमा समेत क्रियाशील छन् र आफ्नो अनुभवले युवा खेलाडीलाई मार्गदर्शन गरिरहेका छन्।

यस उपलब्धिप्रति एडिलेड नेप्लिज क्रिकेट एशोसियसन (एन्का) का अध्यक्ष विजय जोशीले भने, “दीपक क्षेत्रीको निरन्तर मेहनत, अनुशासन र समर्पणले आजको उपलब्धि सम्भव भएको हो। उहाँको सफलता केवल व्यक्तिगत उपलब्धि होइन, यसले अष्ट्रेलियामा हुर्कँदै गरेको नेपाली पुस्तालाई ठूलो प्रेरणा दिनेछ।”

त्यसैगरी, एनआरएनए अस्ट्रेलियाले पनि बधाई सन्देश जारी गर्दै क्षेत्रीको छनोटले अष्ट्रेलियामा नेपाली समुदायको पहिचान थप सुदृढ भएको जनाएको छ। एनआरएनए साउथ अस्ट्रेलियाका संयोजक थिर गुरुङले भने, “दीपक क्षेत्रीको उपलब्धि दक्षिण अष्ट्रेलियास्थित नेपाली समुदायका लागि ऐतिहासिक क्षण हो। यसले हाम्रो समुदायको क्षमता, मेहनत र प्रतिबद्धताको उदाहरण प्रस्तुत गरेको छ। आगामी पुस्ताका लागि यो उपलब्धि प्रेरणाको उज्यालो मार्ग बन्नेछ।”

अष्ट्रेलियाभर रहेका विभिन्न सामाजिक, सांस्कृतिक तथा खेलकुद संघसंस्थासहित सम्पूर्ण नेपाली समुदायले उनलाई बधाई र शुभकामना दिएका छन्। सामाजिक सञ्जालदेखि सामुदायिक कार्यक्रममा दीपक क्षेत्रीको सफलताको चर्चा भइरहेको छ।

दीपक क्षेत्रीको यो सफलता केवल व्यक्तिगत उपलब्धि मात्र नभई अष्ट्रेलियामा नेपाली समुदायको आत्मविश्वास, एकता र पहिचानको प्रतीक बन्न पुगेको छ। दुबईमा हुने प्रतियोगितामा अष्ट्रेलियाको जर्सीमा नेपाली मूलको प्रतिनिधित्व देखिनु, सम्पूर्ण समुदायका लागि दीर्घकालसम्म सम्झिने ऐतिहासिक क्षण बन्ने विश्वास गरिएको छ।