२०८२ फागुन २५ सोमबार

एडिलेडमा अन्तर्राष्ट्रिय नारी दिवस विशेष कार्यक्रम आयोजना हुँदै

  • admin २०८२ फागुन २३ शनिवार

दक्षिण अस्ट्रेलियाको एडिलेडमा अन्तर्राष्ट्रिय नारी दिवस २०२६ विशेष सन्देशसहित मनाइने भएको छ। गैरआवासीय नेपाली संघ (NRNA) दक्षिण अस्ट्रेलियाको नारी निकुञ्जले यस वर्ष “स्वस्थ सम्बन्ध, सबल समुदाय” भन्ने मूल नारासहित कार्यक्रम आयोजना गर्न लागेको हो।

कार्यक्रम आगामी १२ मार्च २०२६, साँझ ४:३० बजेदेखि Adelaide नजिकको Hindmarsh स्थित 49A Orsmond Street मा आयोजना हुनेछ।
कार्यक्रममा दक्षिण अस्ट्रेलियामा बसोबास गर्ने नेपाली महिलासहित सम्पूर्ण समुदायलाई सहभागी हुन खुला निमन्त्रणा गरिएको छ। आयोजकका अनुसार, कार्यक्रममा तीन जना अनुभवी वक्ताहरूले स्वस्थ सम्बन्ध, पारिवारिक सहकार्य, आपसी सम्मान तथा सबल समुदाय निर्माणका विषयमा आफ्ना अनुभव र विचार साझा गर्नेछन्।

* मिमुना रफिके – PEACE Multicultural Services सँग आबद्ध म्यानेजर, बहुसांस्कृतिक समुदायमा शान्ति, सहकार्य र समुदाय सशक्तिकरणमा कार्यरत।
* मञ्जु खड्का – सामाजिक सेवामा सक्रिय केस म्यानेजर, समुदायभित्र विभिन्न पारिवारिक तथा सामाजिक चुनौती सामना गरिरहेका व्यक्तिहरूलाई परामर्श र सहयोग प्रदान गर्दै आएकी। साथै उनी साउथ अस्ट्रेलियन सरकारको बहुसांस्कृतिक आयोगकी सदस्य हुन्।
* सायमा फरहिन – वरिष्ठ प्राक्टिसनर, समुदायभित्र स्वस्थ सम्बन्ध निर्माण, पारिवारिक सहकार्य तथा सामाजिक समावेशितामा अनुभवशील विज्ञ।

कार्यक्रममा PEACE Multicultural Services तथा Relationships Australia SA को सहकार्य रहनेछ।

नारी निकुञ्ज दक्षिण अस्ट्रेलियाकी संयोजक तारा चौधरीले अन्तर्राष्ट्रिय नारी दिवस उत्सव मात्र नभई परिवर्तन र प्रतिबद्धताको दिन भएको उल्लेख गर्दै समुदायलाई सहभागी भई महिलाको शक्ति, धैर्यता र योगदानको सम्मान गर्न आग्रह गरेकी छन्।

नेपाली समुदायबीच एकता, सद्भाव र सशक्तिकरणको सकारात्मक सन्देश फैलाउने उद्देश्यले आयोजना हुन लागेको यस कार्यक्रममा सहभागी भई एकअर्कासँग जोडिन, सिक्न र अनुभव आदान–प्रदान गर्न आयोजकले सबैलाई हार्दिक आमन्त्रण गरेको छ।