एडिलेड, अष्ट्रेलिया – दक्षिण अष्ट्रेलियाको एडिलेडमा नेपाली समुदायले ७औँ होली महोत्सव उल्लासपूर्ण वातावरणमा भव्य रूपमा मनाएका छन्। नेपालीहरूको महत्वपूर्ण सांस्कृतिक पर्व होलीको अवसर पारेर आयोजित उक्त महोत्सवमा हजारौँ नेपाली तथा विभिन्न समुदायका स्थानीय बासिन्दाहरूको उत्साहजनक सहभागिता देखिएको थियो। रंग, संगीत, नृत्य तथा नेपाली परिकारहरूको स्वादसँगै दिनभरि चलेको कार्यक्रमले एडिलेडमा बसोबास गर्ने नेपाली समुदायलाई एकै ठाउँमा जोड्दै सांस्कृतिक एकताको सन्देश दिएको छ।
एडिलेडस्थित Mitchell Park Sports and Community Centre मा आयोजना गरिएको कार्यक्रम शनिबार दिउँसो २ बजेदेखि सुरु भई राति करिब १० बजेसम्म चलेको थियो। कार्यक्रममा सहभागीहरूले एकअर्कामा अबिर र रंग लगाउँदै, सांगीतिक प्रस्तुतिमा रमाउँदै र आपसी भेटघाट गर्दै होली पर्वलाई हर्षोल्लासका साथ मनाएका थिए।
महोत्सवमा नेपाली कलाकारहरूको सांगीतिक प्रस्तुति मुख्य आकर्षणका रूपमा रहेको थियो। कार्यक्रममा गायक अर्जुन सापकोटा, रमेश राज भट्टराई र प्रोशेस पाण्डेले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दै दर्शकलाई भरपूर मनोरञ्जन दिएका थिए। साथै स्थानीय कलाकार, बाल कलाकार तथा विभिन्न सांस्कृतिक नृत्य समूहहरूको प्रस्तुति पनि दर्शकहरूको आकर्षणको केन्द्र बनेको थियो।

कार्यक्रमस्थलमा नेपाली खानाका विभिन्न परिकारका स्टलहरू पनि राखिएका थिए, जहाँ सहभागीहरूले नेपाली स्वादको आनन्द लिएका थिए। रंग खेल्दै, संगीतमा रमाउँदै र नेपाली खानाको स्वाद लिँदै सहभागीहरूले दिनभरि होली पर्वको उल्लास अनुभव गरेका थिए।
महोत्सव सफल बनाउन विभिन्न सरकारी निकाय तथा संस्थाहरूको महत्वपूर्ण सहयोग रहेको आयोजकले जनाएको छ। विशेष गरी City of Marion तथा Department of the Premier and Cabinet लगायत स्थानीय जनप्रतिनिधि, काउन्सिल, प्रायोजक संस्था तथा व्यवसायिक साझेदारहरूको सहयोग उल्लेखनीय रहेको बताइएको छ। कार्यक्रम व्यवस्थापनमा स्वयंसेवकहरूको सक्रिय सहभागिता पनि प्रशंसनीय रहेको आयोजकको भनाइ छ।

कार्यक्रमको सफल आयोजनापछि आयोजक संस्था एडिलेड नेपालका पूर्व अध्यक्ष पुष्कर कोइरालाले महोत्सव सफल बनाउन सहयोग गर्ने सबैप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन्। उनले भने, “एडिलेडमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय, स्वयंसेवक, कलाकार, प्रायोजक तथा सहयोगी संस्थाहरूको साथ र समर्थनका कारण होली महोत्सव अत्यन्त सफलतापूर्वक सम्पन्न गर्न सकेका छौँ। सबैको एकता, सद्भाव र सक्रिय सहभागिताले यस कार्यक्रमलाई अझै भव्य र स्मरणीय बनाएको छ।”
उनले नेपाली संस्कृति, परम्परा र पहिचानलाई प्रवर्द्धन गर्ने यस्ता कार्यक्रमहरूले विदेशमा रहेका नेपालीहरूलाई आफ्नो मौलिक संस्कृतिसँग जोडिराख्न महत्वपूर्ण भूमिका खेल्ने पनि उल्लेख गरे। साथै आगामी दिनहरूमा पनि यस्ता सांस्कृतिक कार्यक्रमहरूलाई निरन्तरता दिँदै नेपाली समुदायबीच एकता, सहकार्य र सांस्कृतिक पहिचानलाई अझ सुदृढ बनाउने लक्ष्य रहेको बताए।

आयोजकका अनुसार होली महोत्सवले एडिलेडमा बसोबास गर्ने नेपाली समुदायलाई मात्र नभई विभिन्न समुदायका स्थानीय बासिन्दाहरूलाई पनि नेपाली संस्कृति नजिकबाट अनुभूति गर्ने अवसर प्रदान गरेको छ। यसले बहुसांस्कृतिक समाजमा आपसी सद्भाव र सहअस्तित्वलाई थप मजबुत बनाएको विश्वास व्यक्त गरिएको छ।
एडिलेडमा प्रत्येक वर्ष आयोजना हुँदै आएको होली महोत्सव पछिल्ला वर्षहरूमा अझै व्यापक र लोकप्रिय बन्दै गएको छ। सहभागीहरूको बढ्दो उपस्थिति र समुदायको उत्साहले यस महोत्सवलाई दक्षिण अष्ट्रेलियामा नेपाली समुदायको प्रमुख सांस्कृतिक उत्सवका रूपमा स्थापित गरिरहेको आयोजकहरूले बताएका छन्।


तपाइँको प्रतिक्रीया