एडिलेड, अष्ट्रेलिया | परदेशमा बसोबास गरिरहेका नेपाली समुदायलाई धर्म, संस्कार र आध्यात्मिक चेतनासँग जोड्ने उद्देश्यका साथ आयोजना गरिएको विशेष भागवत सत्सङ्ग तथा आध्यात्मिक प्रवचन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
नेपाली हिन्दु समाज दक्षिण अष्ट्रेलियाको आयोजनामा १५ मार्च २०२६ मा मोडबरी नर्थस्थित द पाम्स बैंक्वेट हल मा सम्पन्न उक्त कार्यक्रममा नेपाली समुदायका श्रद्धालु भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा १८ महापुराणका प्रख्यात वक्ता पण्डित कुबेर सुवेदीले विशेष आध्यात्मिक प्रवचन प्रदान गर्दै भागवतको महत्त्व, मानव जीवनमा धर्म, नैतिकता तथा सकारात्मक सोचको आवश्यकताबारे प्रकाश पार्नुभएको थियो। उहाँले परदेशमा बसोबास गर्ने नेपालीहरूले आफ्नो धर्म, संस्कृति र आध्यात्मिक परम्परालाई जोगाइराख्न यस्ता कार्यक्रमहरूको महत्त्व अझ बढी हुने बताउनुभयो।

त्यसैगरी लङ्गे धरे धामका पीठाधीश्वर श्री मुकुन्द शर्मा हुमागाईं को विशेष उपस्थितिले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो। कार्यक्रममा भजन–कीर्तन, सत्सङ्ग तथा धार्मिक प्रवचनमार्फत सहभागीहरूले आध्यात्मिक आनन्दको अनुभूति गरेका थिए।
कार्यक्रम संयोजक उद्धव खतिवडा ले समुदायमा नैतिक मूल्य, संस्कार र आध्यात्मिक चेतनाको विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउँदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण आयोजक, स्वयंसेवक तथा सहभागीप्रति आभार व्यक्त गर्नुभयो।
कार्यक्रममा उपस्थित सहभागीहरूले परदेशमा बसेर पनि धर्म, संस्कृति र परम्परालाई जीवन्त राख्ने यस्ता गतिविधि नेपाली समुदायका लागि प्रेरणादायी र महत्वपूर्ण रहेको प्रतिक्रिया दिएका थिए।


तपाइँको प्रतिक्रीया