२०८२ चैत ८ आइतबार

विधानको ‘अस्तु’ र चाकरीको ‘महोत्सव’: नेविसंघभित्रको स्वैच्छिक दासता र नैतिक स्खलनको ऐना

  • admin २०८२ चैत ८ आइतबार

✍️सुमन प्रसाद अधिकारी

नेपाल विद्यार्थी संघ (नेविसंघ) केवल एउटा संगठन मात्र होइन, यो त नेपाली कांग्रेसको वैचारिक कोखबाट जन्मिएको एउटा जीवन्त आन्दोलन हो।

यो कसैको व्यक्तिगत इच्छाशक्ति, कसैको निगाह वा कसैको राजनीतिक रहरको उपज होइन, बरु लोकतान्त्रिक विधानको जगमा उभिएको एउटा संस्था हो। तर विडम्बना, जब संस्था हाँक्नेहरूको दिमागमा विधानको चेतभन्दा ‘शक्ति’ को नशा बढी हुन्छ, तब राजनीति मात्र होइन, मानवीय बुद्धि र विवेक पनि लज्जाले पानी-पानी हुन थाल्छ।

आज नेविसंघभित्र जे भइरहेको छ, त्यो न विद्यार्थी राजनीति हो, न त कुनै वैचारिक आन्दोलन; यो त केवल विधानको धज्जी उडाएर मञ्चन गरिएको एउटा कुरुप र भद्दा ‘जात्रा’ मात्र हो।

केही तीता तर नग्न सत्यहरू आज सानेपाको भित्तादेखि सडकसम्म छताछुल्ल भएका छन्, जसलाई नजरअन्दाज गर्नु भनेको आफ्नै विवेकको हत्या गर्नु सरह हो। यदि नेविसंघलाई माउ पार्टीबाट अलग र स्वायत्त राख्ने नै हो भने, सानेपाको केन्द्रीय बैठकमा प्रस्ताव लगेर विधान संशोधन गर्ने नैतिक हिम्मत राख्नुपर्छ।

विधान मिचेर गरिने यस्ता अवैधानिक अभ्यासहरूले भोलि ‘नेविसंघ नै कांग्रेस हो’ भन्ने अराजक तर्क नजन्माउला भन्न सकिन्न। पटक-पटक राजीनामा दिएको हल्ला सुनिन्छ, तर सानेपाको औपचारिक बैठकमा त्यो एजेन्डाले कहिल्यै प्रवेश पाउँदैन।

यो कस्तो खालको ‘मिडियाबाजी’ हो? के नेपाली राजनीतिमा नैतिकताको यति विघ्न खडेरी परेकै हो त? ६ महिनाका लागि पाएको जिम्मेवारीलाई वर्षौँसम्म ‘अवैध’ रूपमा थामिरहँदा ऐनामा हेरेर गर्व गर्ने ठाउँ अब कति नै बाँकी रहला र?

म आफैँ पनि लज्जित छु, म त्यो कार्यकालको एउटा हिस्सा ‘थिएँ’, तर आज मेरो कार्यकालको वैधता इतिहासको रद्दीटोकरीमा सेलाइसकेको छ। भ्रमको खेती गरेर राजनीतिक भविष्य सुरक्षित देख्नेहरूलाई एउटा कुरा स्पष्ट होस् कि राजनीतिमा पद पाउनु ठूलो कुरा होइन, पदको गरिमा बचाउनु र वैधानिक निकास दिएर इतिहासमा सुरक्षित हुनु ठूलो कुरा हो।

राजनीति सिकाउन खोज्ने र स्वायत्तताको रटान लगाउने ‘विद्वान’ साथीहरूका हर्कत हामीले नदेखेका होइनौँ। ‘स्ववियु टिकट वितरण र अधिवेशनलाई नेताको हस्तक्षेपबाट मुक्त राख्न स्वायत्त बनाएको’ भन्ने हास्यास्पद र तर्कहीन कुरा सुन्दा सुन्नेलाई पनि लाज लाग्नुपर्ने हो।

यदि स्वायत्तता यही हो भने, के विगतका स्ववियु निर्वाचनहरूमा केन्द्रीय अध्यक्षको खल्तीबाट निस्कने ‘नामका चिर्कटाहरू’ हामीले नदेखेका हौँ र?

सानेपाको गेटदेखि नेताका घरको वरिपरि पुच्छर हल्लाउँदै हिँड्ने ‘चाकरिलाल’ हरूको यो विशाल भीड कुन विधानको उपज हो? नाम स्वायत्त राखेर काम पराश्रित गर्ने, कागजमा स्वायत्तताको लेपन दलेर व्यवहारमा केन्द्रीय नेताको दैलो नचहारी एउटा साधारण सदस्यले सास फेर्न नसक्ने वातावरण बनाउनु कुन स्तरको राजनीतिक चेतना हो?

चाकरीको नयाँ नाम ‘राजनीति’ राखिएको यो कुरुप कालखण्डमा हिजोका ती भनिएका जुझारु विद्यार्थी नेताहरू आज एउटा ‘टिकट’ को भिक्षा थाप्न नेताका बैठक कोठामा कुन हैसियत र कुन स्वाभिमानका साथ बसिरहेका छन्?

आफ्नो विवेक र निर्णय क्षमता नेताको पाउमा बुझाएर “हामी त ठूलो राजनीति गर्दैछौँ” भन्नु आफैँमा एउटा बिर्सनलायक जोक बाहेक केही होइन। ६ महिनाको म्याद सकिएर कार्यकालको ‘अस्तु’ बागमतीमा सेलाइसक्दा पनि अझै “म केन्द्रीय सदस्य हुँ” भन्दै पगरी गुथेर हिँड्नेहरूले कम्तीमा एकपटक ऐना हेर्ने हिम्मत त राख्नुपर्छ।

इमानुएल कान्टले भनेका थिए, “मानिस जब आफ्नो विवेक प्रयोग गर्न अर्काको सहारा लिन्छ, तब ऊ मानसिक दासतामा हुन्छ।” आज नेविसंघका केही साथीहरू यही ‘स्वैच्छिक दासता’ को उत्सव मनाइरहेका छन्।

नियम र विधानले चल्नुपर्ने संस्थालाई ‘चाकरी र चाप्लुसी’ को केन्द्र बनाउँदा आज राजनीति मात्र होइन, मान्छेको न्यूनतम चेत पनि लज्जित भइरहेको छ।

महान दार्शनिक प्लेटोका अनुसार शासकहरूले जब नियमको पालना गर्न बिर्सन्छन् र आफ्नै विधानको उपहास गर्छन्, तब लोकतन्त्र बिस्तारै भीडतन्त्रमा परिणत हुन्छ।

आज नेविसंघभित्र विधानको धज्जी उडाउने र टिके प्रथाको वकालत गर्नेहरूले बुझ्न जरुरी छ कि एउटा घरको जग अर्थात् विधान नै भत्कियो भने, सिङ्गो संरचना र माउ पार्टी धेरै दिन टिक्न सक्दैन।

राजनीति आज लज्जाबोध गर्दैछ, बुद्धि र विवेक पनि कुना पसेर रोइरहेका छन्। कुनै पनि संस्था प्रणाली (System) ले चल्नुपर्छ, व्यक्तिको क्षणिक सनक र स्वार्थले होइन।

विधान बुझ्ने चेत र नैतिकताको न्यूनतम मूल्य नभएकाहरूले राजनीति सिकाउनु अघि कम्तीमा नैतिकताको एउटा प्राथमिक पाठ चाहिँ पढ्नु।

यी ‘चाकरिलाल’ हरूले सिकाउने फोहोरी र दासतापूर्ण राजनीतिभन्दा त ‘म कतै छैन’ भनेर मौन बस्नु र सत्यको पक्षमा उभिनु कैयौँ गुणा सम्मानित, गर्विलो र ऐतिहासिक हुन्छ। जबसम्म विधानको शासन फर्कँदैन र चाकरीको यो ‘महोत्सव’ रोकिँदैन, तबसम्म नेविसंघको गरिमा फर्किने छैन, बरु यो केवल एउटा राजनीतिक क्लबमा सीमित हुने निश्चित छ।