काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र व्यापक शुद्धीकरण र संरचनात्मक परिवर्तनका लागि ‘ग्रान्ड रिफर्म’ को योजना अघि सारेका छन् । पार्टी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै अबको यात्रा महाधिवेशन र पार्टी पुनर्जागरणतर्फ केन्द्रित हुने बताए।
कांग्रेसमा अब सानो सुधार नभई ग्राण्ड रिफर्म चाहिएको बताए । उनले सत्ताका लागि गरिने सिद्धान्तहीन सम्झौता र राज्य शक्तिको दुरुपयोग जस्ता ‘मैला पातहरू’ अब हटाउनुपर्ने बेला आएको उल्लेख गरे।
पार्टीको भद्दा संरचनाले यसको मौलिकता थिचिएको भन्दै उनले चार पुस्ताको विविधतालाई कांग्रेसको शक्तिमा बदल्नुपर्ने धारणा राखे। पार्टीलाई केवल ‘इलेक्सन मेसिन’ मात्र नबनाई एक जीवन्त सामाजिक आन्दोलनका रूपमा पुनर्जागृत गर्ने उनको सङ्कल्प छ ।
उनले निर्वाचनको हारको जिम्मेवारी लिँदै आफू ‘टिमको क्याप्टेन’ भएको नाताले जबाफदेहिताबाट नभाग्ने स्पष्ट पारे। उनले अब राजीनामाको अध्याय समाप्त भएको र पार्टीलाई १५ औँ महाधिवेशनतर्फ डोर्याउने जिम्मेवारी आफ्नो काँधमा आएको बताए।
सदस्यता प्रणालीमा आमूल परिवर्तन गर्दै आगामी वैशाख १ गतेबाट सबै क्रियाशील सदस्यको नयाँ ढङ्गले अभिलेखीकरण र अद्यावधिक गरिने थापाले जानकारी दिए। अब प्रत्येक सदस्यले ‘कांग्रेस आइडी’ पाउनेछन् र सबै प्रक्रिया डिजिटल हुनेछ ।
यस्तै, विभिन्न पेशा र व्यवसायमा रहेका विज्ञहरूलाई पार्टीको नेतृत्वमा ल्याउन ‘ल्याटरल इन्ट्री’को ढोका खोलिने उनले बताए । शुभेच्छुक संस्थाहरूबाट महाधिवेशन प्रतिनिधि आउने पुरानो व्यवस्था खारेज गरी विज्ञहरूलाई सिधै नीति निर्माण र नेतृत्वमा सहभागी गराइने नयाँ विधानको व्यवस्था कार्यान्वयन गरिने उनको प्रस्ताव छ ।
सार्वजनिक जिम्मेवारीमा जान चाहने नेताहरूका लागि थापाले ‘कांग्रेस लिडरसिप एकेडेमी’ को अवधारणा अघि सारेका छन्। अब स्थानीय वा प्रदेश निर्वाचनमा उम्मेदवार बन्न चाहने व्यक्तिले अनिवार्य रूपमा एकेडेमीको पाठ्यक्रम अनुसार प्रशिक्षण लिनुपर्नेछ ।
‘मेयर वा वडाध्यक्ष बन्न चाहनेले पब्लिक पोलिसी, अर्थतन्त्र र सुशासनका बारेमा तोकिएको घण्टा क्लास लिनैपर्छ’, उनले भने ।
यसले पार्टीका उम्मेदवारहरूलाई शासकीय क्षमतामा अब्बल बनाउने र जनताका समस्या समाधानमा प्रभावकारी भूमिका खेल्न मद्दत पुग्ने विश्वास उनले व्यक्त गरे।

तपाइँको प्रतिक्रीया