त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा अब नेपाली मूलका विदेशी नागरिक र गैरआवासीय नेपाली (NRN) का लागि विशेष सुविधा विस्तार गरिएको छ। विमानस्थल अध्यागमन कार्यालयले आगमन र प्रस्थान दुवै स्थानमा छुट्टै अध्यागमन डेस्क सञ्चालनमा ल्याएर सेवा थप सहज बनाएको हो।
यसअघि यस्तो छुट्टै व्यवस्था मुख्यतः एनआरएनए सदस्य तथा केही विशेष सुविधा प्राप्त विदेशी नागरिकका लागि मात्र सीमित थियो। तर हालको निर्णयसँगै नेपाली मूलका विदेशी नागरिकहरूलाई पनि सोही सुविधा उपलब्ध गराइएको छ, जसले उनीहरूको आवतजावत प्रक्रिया अझ छिटो र व्यवस्थित बनाउनेछ।
चैत ८ गतेको निर्णयअनुसार लागू गरिएको यस व्यवस्थाले यात्रुहरूको भीड व्यवस्थापनमा सहयोग पुर्याउनेछ भने लामो लाइन बस्नुपर्ने झन्झट पनि कम गर्ने अपेक्षा गरिएको छ। विशेषगरी विदेशमा बसोबास गर्ने नेपाली मूलका व्यक्तिहरूलाई नेपाल आउँदा र फर्किँदा सहज अनुभव दिलाउने उद्देश्य राखिएको छ।
यो कदम केवल प्रशासनिक सुधार मात्र नभई नेपाली भाषा, संस्कृति र मातृभूमिसँगको सम्बन्धलाई बलियो बनाउने प्रयास पनि हो। साथै, पर्यटन प्रवर्द्धन र लगानी आकर्षित गर्ने दीर्घकालीन लक्ष्य समेत यससँग जोडिएको छ।

तपाइँको प्रतिक्रीया