२०८२ चैत १४ शनिवार

एन्कालाई ‘साका अवार्ड २०२६’ : महिला क्रिकेट प्रवर्द्धनमा ऐतिहासिक उपलब्धि

  • admin २०८२ चैत १४ शनिवार

एडिलेड — अष्ट्रेलियामा नेपाली समुदायबीच सक्रिय संस्था एडिलेड नेप्लिज क्रिकेट एशोसियसन (एन्का) ले पुनः महत्वपूर्ण अन्तर्राष्ट्रिय सम्मान हासिल गरेको छ। South Australian Cricket Association (साका) ले एन्कालाई सन् २०२६ का लागि “Women’s & Girls Initiative of the Year ” अवार्ड प्रदान गरेको हो।

क्रिकेटलाई सबैका लागि पहुँचयोग्य बनाउने र समुदायसँग जोडेर अघि बढाउने लक्ष्यसहित एन्काले सञ्चालन गर्दै आएका कार्यक्रमहरूको प्रभावका कारण यो प्रतिष्ठित सम्मान प्राप्त भएको जनाइएको छ। विशेषगरी महिला तथा बालिकाको सहभागिता बढाउन गरिएको पहलले साका स्तरमै उच्च प्रशंसा बटुलेको छ।

यसअघि सन् २०२५ मा “Association of the Year” घोषित भइसकेको एन्काले लगातार दोस्रो वर्ष पनि अवार्ड जित्दै आफ्नो सक्रियता, निरन्तरता र प्रभावलाई थप सुदृढ बनाएको छ।

एन्काअन्तर्गत सञ्चालन भएका “ Strikers Girls Team” तथा “LCA ANCA Friendship Cup” प्रतियोगिता यस उपलब्धिका प्रमुख आधार बनेका छन्। यी कार्यक्रमहरूले बालिका तथा महिलालाई क्रिकेटमा आकर्षित गर्नुका साथै उनीहरूको आत्मविश्वास अभिवृद्धि र नेतृत्व क्षमताको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका छन्।

एन्काका अध्यक्ष विजय जोशीले यस उपलब्धिलाई सम्पूर्ण नेपाली समुदायको साझा सफलता भन्दै भने,“यो सम्मान केवल एन्काको मात्र नभई सम्पूर्ण समुदायको हो। हामीले क्रिकेटलाई माध्यम बनाएर महिला तथा बालिकालाई सशक्त बनाउने प्रयास गरेका छौं, र यसको मूल्यांकन अन्तर्राष्ट्रिय स्तरमा हुनु गर्वको विषय हो। आगामी दिनमा अझ व्यापक रूपमा कार्यक्रमहरू विस्तार गर्दै लैजाने हाम्रो प्रतिबद्धता छ।”

संस्थाले यस उपलब्धिलाई केवल सफलता नभई आगामी दिनमा अझ प्रभावकारी रूपमा क्रिकेट तथा सामुदायिक सेवा विस्तार गर्ने प्रेरणाका रूपमा लिएको जनाएको छ। साथै, साकाबाट प्राप्त निरन्तर सहयोग, मार्गदर्शन र हौसलाका लागि कृतज्ञता व्यक्त गरेको छ।त्यसैगरी, एन्काले आफ्ना प्रायोजक, सहयोगी तथा समर्थकहरूलाई “संस्थाको मेरुदण्ड” उल्लेख गर्दै उनीहरूको साथ र समर्थनबिना यस्ता उपलब्धि सम्भव नहुने स्पष्ट पारेको छ।

एन्काको यो सफलताले अष्ट्रेलियामा नेपाली समुदायले खेलकुदमार्फत देखाएको सक्रियता, एकता र योगदानलाई अन्तर्राष्ट्रिय स्तरमै थप पहिचान दिलाएको छ।