एडिलेड,अष्ट्रेलिया / प्रवासमा बसोबास गर्दै आएका नेपाली समुदायबीच आपसी सद्भाव, सांस्कृतिक संरक्षण र पुस्ता–पुस्ताबीचको सम्बन्ध सुदृढ गर्ने उद्देश्यका साथ साउथ अष्ट्रेलियामा नयाँ वर्ष २०८३ भव्य रूपमा मनाइने भएको छ।
एडिलेडस्थित पुरानो तथा सक्रिय सामुदायिक संस्था एडिलेड नेपाल समाजको आयोजनामा “नयाँ वर्ष २०८३ को शुभकामना आदान–प्रदान तथा अभिभावक वनभोज कार्यक्रम” आगामी १४ अप्रिल २०२६ (१ वैशाख २०८३) का दिन आयोजना गर्न लागिएको हो। कार्यक्रम दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म Oaklands Wetland Reserve मा सम्पन्न हुनेछ।

प्रवासमा रहे पनि नेपालीपन, भाषा, संस्कार र परम्परालाई जीवित राख्ने लक्ष्यसहित आयोजना हुन लागेको यस कार्यक्रमले विशेषगरी नेपालबाट भ्रमणमा आएका अभिभावक, यहाँ स्थायी रूपमा बसोबास गरिरहेका नेपाली तथा अष्ट्रेलियामै हुर्किरहेको नयाँ पुस्ताबीच आत्मीयता र सांस्कृतिक सेतु निर्माण गर्ने अपेक्षा गरिएको छ।
एडिलेड नेपाल समाजका अध्यक्ष श्याम दाहालले कार्यक्रमबारे जानकारी दिँदै भने,“हामी जहाँ रहे पनि हाम्रो पहिचान नेपालीपनमै निहित छ। नयाँ वर्ष जस्तो महत्वपूर्ण पर्वले हामीलाई एकै ठाउँमा ल्याएर आफ्ना संस्कार, संस्कृति र मूल्य–मान्यताहरू साझा गर्ने अवसर दिन्छ। विशेषगरी नेपालबाट आउनुभएका अभिभावकहरूलाई यहाँको समुदायसँग जोड्ने र नयाँ पुस्तालाई आफ्ना जरा चिनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।”उनले प्रवासमा हुर्किरहेको पुस्तालाई नेपाली भाषा, संस्कृति र परम्पराबारे जानकारी गराउने जिम्मेवारी समुदायकै भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले त्यो दायित्व पूरा गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।
कार्यक्रममा औपचारिक शुभकामना आदान–प्रदानसँगै विभिन्न सांस्कृतिक प्रस्तुति, नेपाली गीत–संगीतमा नृत्य, बालबालिका तथा अभिभावकहरूबीच मैत्रीपूर्ण तथा प्रतियोगितात्मक खेलकुद, र सामूहिक वनभोजको विशेष आकर्षण रहनेछ। यस कार्यक्रममा तीन पुस्ताको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। नेपालबाट आउनुभएका अभिभावकहरूका लागि यो कार्यक्रम प्रवासमा पनि आफ्नै संस्कृतिसँग जोडिने अवसर बन्नेछ भने यहाँ जन्मेर हुर्किरहेका बालबालिकाहरूका लागि आफ्नो मौलिक पहिचान बुझ्ने एउटा जीवन्त माध्यम बन्ने विश्वास गरिएको छ।
कार्यक्रमलाई सफल बनाउन स्थानीय नेपाली समुदायका विभिन्न व्यक्तित्व तथा स्वयंसेवकहरू सक्रिय रूपमा जुटिरहेका छन्। साथै, साउथ अष्ट्रेलिया सरकारको समेत सहयोग रहने जनाइएको छ, जसले बहुसांस्कृतिक समाज निर्माणमा यस्ता कार्यक्रमको महत्वलाई अझ उजागर गरेको छ।
समाजले सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, अभिभावक लाई कार्यक्रममा सहभागी भई नयाँ वर्ष २०८३ लाई उल्लासमय वातावरणमा स्वागत गर्न हार्दिक निमन्त्रणा दिएको छ।
प्रवासको व्यस्त जीवनशैलीबीच पनि आफ्नोपन, आत्मीयता र सांस्कृतिक पहिचानलाई जोगाउँदै अघि बढ्ने नेपाली समुदायका लागि यस्तो कार्यक्रम केवल उत्सव मात्र नभई सामाजिक एकता र सांस्कृतिक निरन्तरताको प्रतीकका रूपमा समेत स्थापित हुने अपेक्षा गरिएको छ।

तपाइँको प्रतिक्रीया