२०८२ चैत १८ बुधबार

इन्धनको मूल्य बढेसँगै हवाई भाडा बढाउने आओनको घोषणा

  • admin २०८२ चैत १८ बुधबार

काठमाडौं । वायुसेवा सञ्चालक संघ, नेपाल (आओन) ले हवाई भाडा बढाउने घोषणा गरेको छ । नेपाल आयल निगमले बुधबारदेखि लागू हुनेगरी हवाई इन्धनमा उच्च मूल्य वृद्धि गरेसँगै आओनले हवाई भाडा बढाउने निर्णय गरेको हो ।

खाडी मुलुकमा चर्किएको युद्वको असर विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य र आपूर्तिमा परिरहेको सन्दर्भमा नेपालमा समेत ठूलो असर परेको छ । नेपालका लागि पेट्रोलिय पदार्थको आपूर्तिकर्ता इन्डियन आयल कर्पोरेसन (आईओसी)ले पछिल्लो पटक पठाएको मूल्य सूची अनुसार पेट्रोलियम पदार्थमा थप मूल्य बढाएको भएतामा निगमले तत्काल पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्यासमा मूल्य नबढाउने निर्णय गरेको थियो ।

तर, हवाई इन्धनमा भने लिटरमै १२४ रुपैयाँले मूल्य बढाएको छ । योसँगै हवाई इन्धनको मूल्य प्रतिलिटर २५१ रुपैयाँ पुगेको उल्लेख गर्दै हवाई सञ्चालन व्यवसायलाई ध्यानमा राख्दै भाडा समायोजन गर्न लागिएको आओनले जनाएको हो ।

वायुसेवा कम्पनीहरुले पनि आफ्नो उडान खर्च उठाई यात्रुहरुलाई सहज, सरल तथा सुविधाजनक सेवा प्रदान गर्नका लागि हवाई भाडा दर तथा हेलिकप्टर भाडा दर पनि स्वतः बृद्धि गर्नु पर्ने भएकोले हवाई इन्धनको मुल्य भण्डै दोव्वरले बृद्धि भएको अनुपातमा फ्यूल चार्ज बढाई नयाँ हवाई भाडादर सबै उडानमा लागू हुने व्यहोरा सर्वसाधारणलाई अवगत गराएको आओनले जनाएको छ ।