२०८२ माघ २८ मङ्गलबार

झापाली समाज अस्ट्रेलियामा नेतृत्व परिवर्तन, अजय राजवंशी अध्यक्ष चयन

  • admin २०८२ माघ २८ मङ्गलबार

सिड्नी, अष्ट्रेलिया । झापा जिल्लाबाट अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूको साझा मञ्च झापाली समाज अस्ट्रेलियाले आफ्नो १३औँ वार्षिकोत्सव तथा ७औँ वार्षिक साधारण सभा अवसरमा नयाँ नेतृत्व चयन गर्दै संस्थागत यात्रामा अर्को महत्वपूर्ण अध्याय थपेको छ। सिड्नीको ग्रानभिलस्थित रातो घरमा सम्पन्न साधारणसभाले अजय राजवंशीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध रूपमा चयन गरेको हो।

समारोहमा निर्वतमान अध्यक्ष अशोक उप्रेती नेतृत्वको कार्यसमितिले नव–निर्वाचित पदाधिकारीहरूलाई पद तथा गोपनीयताको शपथ गराउँदै औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरेको थियो। निर्वाचन समितिका सदस्यहरू जविन श्रेष्ठ, अशोक ओली र सीताराम घिमिरेले शपथ ग्रहण गराएका थिए।

नयाँ कार्यसमितिमा अध्यक्ष अजय राजवंशी, उपाध्यक्ष मदन धौराली, सचिव दिपेन्द्र ओडारी, सह–सचिव कौशल राज सिटौला र कोषाध्यक्ष लुना सिवाकोटी चयन भएका छन्। सदस्यहरूमा सञ्जीव पराजुली, रोशन धौराली, प्रलाद घिमिरे, अशोक बी. भेटवाल, हिमाल कडरिया, नवीन गौतम, जनक उप्रेती, अमित श्रेष्ठ, दिपेन्द्र बुढाथोकी र चन्द्र कुमार ढकाल रहेका छन्।

नव–निर्वाचित अध्यक्ष राजवंशीले समुदायले दिएको विश्वासप्रति आभार व्यक्त गर्दै एकता, पारदर्शिता र सहकार्यलाई केन्द्रमा राखेर झापाली पहिचान, भाषा–संस्कृति र भावी पुस्ताको संरक्षणका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे। अष्ट्रेलियामा रहेका झापाली समुदायका सामाजिक, सांस्कृतिक र परोपकारी गतिविधिहरूलाई अझ प्रभावकारी बनाउने आफ्नो लक्ष्य रहेको उनले बताए।

कार्यक्रममा अन्तर्राष्ट्रिय झापाली समाजका संरक्षक भवानी ओली र दिनेश पोखरेल, उपाध्यक्ष दीपक चुडाल, कोषाध्यक्ष उमेश पोखरेल, पूर्व उपाध्यक्षद्वय भूपाल सिटौला र सन्तोष सिटौला तथा पूर्व महासचिव रूपराज मैनालीको सहभागिता रहेको थियो। उनीहरूले विश्वभर छरिएर रहेका झापालीहरूलाई एउटै सूत्रमा बाँध्न झापाली समाज अस्ट्रेलियाले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गर्दै नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिए।

एनएसडब्लु राज्यका वाणिज्यदूत संजिव शर्माले प्रवासी संस्थाहरू सामाजिक एकता मात्र होइन, मातृभूमिको आर्थिक तथा सामाजिक विकासका महत्वपूर्ण साझेदार भएको उल्लेख गर्दै नयाँ नेतृत्वलाई बधाइ ज्ञापन गरे। कार्यक्रममा एनआरएनए ओसेनिया संयोजक दिनेश पोखरेल, उप–संयोजक अरुण ठाकुर, एनआरएनए कोषाध्यक्ष निजन चौलागाई, नयाँका अध्यक्ष बीपिन थापा, सामाजिक अभियन्ता केशव जोशी, डा. राजु मानन्धर, अस्ट्रेलियन नेपाली पत्रकार संघका अध्यक्ष कृष्ण तिवारी, चलचित्र निर्देशक शोभित बस्नेतलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

१३ वर्षदेखि अष्ट्रेलियामा रहेका झापा मूलका नेपालीहरूलाई संगठित गर्दै सामाजिक सेवा, सांस्कृतिक संरक्षण र आपसी सहयोगमा निरन्तर सक्रिय झापाली समाज अस्ट्रेलियाले नयाँ नेतृत्वसँगै आफ्नो अभियानलाई अझ समावेशी, प्रभावकारी र दीर्घकालीन बनाउने अपेक्षा समुदायले गरेको छ।