२०८३ जेठ २१ बिहीबार

एनआरएन हार्मोनी कप २०२६: पर्थमा नेपाली समुदायको खेल उत्सव सुरु हुँदै

  • admin २०८२ माघ २८ मङ्गलबार

पर्थ/ पर्थस्थित नेपाली समुदायलाई एकताबद्ध गर्दै खेल, स्वास्थ्य र प्रतिभा प्रदर्शनको अवसर सिर्जना गर्ने उद्देश्यसहित एनआरएनए वेस्टर्न अस्ट्रेलियाले एनआरएन हार्मोनी कप २०२६ आयोजना गर्ने भएको छ। प्रतियोगिताको शीर्ष प्रायोजक SMG Construction रहेको छ भने कार्यक्रम KTM Martको सहकार्यमा सञ्चालन हुँदैछ।

एनआरएन हार्मोनी कपअन्तर्गत क्रिकेट, फुटबल, भलिबल, बास्केटबल, चेस, टेबल टेनिस, लन टेनिस, ब्याडमिन्टन, ५ किलोमिटर दौड तथा पौडीजस्ता विविध खेल विधामा प्रतिस्पर्धा हुनेछ। आयोजकका अनुसार यो प्रतियोगिता केवल खेलमै सीमित नभई समुदायको स्वास्थ्य प्रवर्द्धन, आपसी सद्भाव र प्रतिभा पहिचानको प्लेटफर्मसमेत बन्ने विश्वास गरिएको छ।

एनआरएनए  वेस्टर्न अस्ट्रेलियाका संयोजक हरिबंश संजेल (सुमन) ले यस किसिमका कार्यक्रमले नेपाली समुदायबीच सहकार्य, मित्रता र सकारात्मक ऊर्जा प्रवाह हुने उल्लेख गर्दै युवाहरूलाई सक्रिय सहभागिताका लागि आह्वान गर्नुभएको छ। उहाँका अनुसार “हार्मोनी कपले खेलमार्फत समुदायलाई जोड्ने मात्र होइन, नेतृत्व विकास र सामूहिक पहिचान मजबुत बनाउने काम गर्नेछ।”

प्रतियोगिताका लागि दर्ता खुला भइसकेको छ भने फेब्रुअरी १४, २०२६ सम्म दर्ता गर्न सकिने आयोजकले जनाएको छ। खेलकुद गतिविधिहरू मार्च १, २०२६देखि सुरु हुनेछन्। इच्छुक खेलाडी तथा टिमहरूले https://harmonycup.au/ मार्फत अनलाइन दर्ता गर्न सक्नेछन्।

एनआरएनए वेस्टर्न अस्ट्रेलियाले हार्मोनी कपलाई पर्थकै सबैभन्दा ठूलो नेपाली सामुदायिक खेलकुद महोत्सव बनाउने लक्ष्यसहित तयारी तीव्र बनाएको जनाएको छ। यो खेलकुद कार्यक्रम एनआरएनए वेस्टर्न अस्ट्रेलियाको सिग्नेचर कार्यक्रम मध्यको एक महत्वपूर्ण कार्यक्रम हो।