२०८३ श्रावाण २ शनिवार

नान्टको नयाँ कार्यसमितिले गर्‍यो शपथ, अध्यक्ष भने विधानअनुसार संवैधानिक प्रक्रियाबाट चयन गरिने

  • admin २०८३ श्रावाण २ शनिवार

डार्विन,अष्ट्रेलिया। नेपालिज एसोसिएसन अफ नर्दर्न टेरिटोरी (NANT) को सन् २०२६–२०२८ कार्यकालका लागि निर्वाचित नयाँ कार्यसमितिले औपचारिक रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै जिम्मेवारी सम्हालेको छ। एक विशेष समारोहका बीच सम्पन्न कार्यक्रममा निवर्तमान नेतृत्वबाट नवनिर्वाचित टोलीलाई जिम्मेवारी हस्तान्तरण गरिएको हो।

निर्वाचन आयोगका प्रमुख दिनेश सापकोटा तथा आयोगको टोलीले नवनिर्वाचित पदाधिकारी र कार्यसमिति सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।

नयाँ कार्यसमितिमा नम्रता शर्मा महिला उपाध्यक्ष, सन्तोष खड्का उपाध्यक्ष, अनुपम ढुंगाना महासचिव, संगम तामाङ सह–महासचिव, सन्दीप भुसाल कोषाध्यक्ष र उमाकान्त घिमिरे सह–कोषाध्यक्षमा निर्वाचित भएका छन्। त्यसैगरी कार्यसमिति सदस्यहरूमा रोशन खटिवडा, रवि पौडेल, शुभम ढकाल, दर्पण भट्टराई र दिपेशराज बराल रहेका छन्।

यस कार्यकालमा अध्यक्ष पदका लागि कुनै उम्मेदवारी नपरेकाले वा निर्वाचन हुन नसकेकाले नान्टको विधानबमोजिम नवनिर्वाचित कार्यसमितिले आवश्यक संवैधानिक प्रक्रिया पूरा गरी अध्यक्ष चयन गर्ने जानकारी कार्यक्रममार्फत दिइएको छ।

कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष प्रतिभा देवकोटा भावुक बनेकी थिइन्। उनले आफ्नो कार्यकाल सफल बनाउन साथ, सहयोग र विश्वास गर्ने सम्पूर्ण नेपाली समुदाय, स्वयंसेवक, प्रायोजक तथा विभिन्न सामाजिक संघ–संस्थाप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिइन्। जिम्मेवारी हस्तान्तरणका क्रममा निवर्तमान कोषाध्यक्ष रोशन खटिवडा ले संस्थाको विस्तृत आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सम्पूर्ण वित्तीय अभिलेख नवनिर्वाचित कार्यसमितिलाई औपचारिक रूपमा हस्तान्तरण गरेका थिए।

सोही अवसरमा एनआरएनए नर्दर्न टेरिटोरी सामाजिक कल्याण समिति (Social Welfare Committee – SWC) ले पनि आफ्नो कार्यकालको आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गरेको छ। समितिका अध्यक्ष बाबुराम भट्टराई ले स्वयंसेवक, दातृ संस्था र सहयोगीहरूप्रति धन्यवाद व्यक्त गर्दै समितिमार्फत करिब ७३ हजार अष्ट्रेलियन डलर संकलन गरिएको र त्यसमध्ये ५५ हजार डलर बैंकको मुद्दती निक्षेप (Fixed Deposit) मा सुरक्षित राखिएको जानकारी दिए। उनले नान्ट र एनआरएनए नर्दर्न टेरिटोरीबीचको सहकार्यबाट समुदायका लागि धेरै सामाजिक तथा मानवीय कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्न सकिएको उल्लेख गरे।

कार्यक्रममा एनआरएनए नर्दर्न टेरिटोरीका संयोजक त्रिलोचन सापकोटाले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै समुदायको हितमा एकताबद्ध भएर काम गर्न आग्रह गरे। त्यसैगरी, एनआरएनए नर्दर्न टेरिटोरीका पूर्वअध्यक्ष विष्णु चापागाईं तथा नान्टका पूर्वअध्यक्ष सुदीप श्रेष्ठ ले आफ्नो नेतृत्वकालका अनुभव साझा गर्दै नयाँ कार्यसमितिलाई आवश्यक परेको जुनसुकै समयमा सहयोग, सुझाव र साथ रहने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमको सञ्चालन नान्टकी निवर्तमान महासचिव कल्पना पाण्डे ले गरेकी थिइन्। कार्यक्रमको समापनमा नान्टले निवर्तमान कार्यसमितिको योगदानको उच्च प्रशंसा गर्दै नयाँ नेतृत्वले पनि नेपाली समुदायको एकता, सहकार्य, सामाजिक उत्तरदायित्व र संस्थागत विकासलाई थप सुदृढ बनाउँदै लैजाने विश्वास व्यक्त गरेको छ। अध्यक्ष पदको चयन विधानअनुसार हुने भएकाले नयाँ कार्यसमितिले पूर्णता पाएपछि आगामी कार्ययोजनालाई थप प्रभावकारी रूपमा अघि बढाइने अपेक्षा गरिएको छ।