२०८३ असार ३१ बुधबार

एडिलेडमा २१३औँ भानुजयन्ती विशेष साहित्यिक समारोह सम्पन्न

  • admin २०८३ असार २९ सोमबार

एडिलेड ,अष्ट्रेलिया — आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको अवसरमा दक्षिण अष्ट्रेलियाको एडिलेडमा विशेष साहित्यिक कार्यक्रम सम्पन्न भएको छ। ‘साहित्य सुनौँ, सुनाऔँ’ श्रृंखला–१९ अन्तर्गत साहित्य अनुरागी एडिलेडले आयोजना गरेको कार्यक्रममा प्रवासमा रहेका नेपाली साहित्यकार, साहित्यप्रेमी तथा समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

मिचेल पार्क स्पोर्ट्स एन्ड कम्युनिटी सेन्टरमा आयोजित कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको तस्बिरमा पुष्पगुच्छा अर्पण गर्दै कार्यक्रमको शुभारम्भ गरिएको थियो। कार्यक्रममा भानुभक्तले नेपाली भाषा र साहित्यको विकासमा पुर्‍याएको ऐतिहासिक योगदानको स्मरण गर्दै उहाँको साहित्यिक विरासतबारे चर्चा गरिएको थियो।

कार्यक्रममा सहभागी स्रष्टाहरूले मातृभूमिको वर्तमान अवस्था, प्रवासी जीवनका अनुभूति, नेपाली भाषा, संस्कृति र राष्ट्रिय पहिचानका विविध पक्ष समेटिएका कविता, गजल, मुक्तक तथा लघुकथा प्रस्तुत गरेका थिए। सहभागीहरूले यस्ता साहित्यिक अभियानले प्रवासमा नेपाली भाषा र संस्कृतिलाई जगेर्ना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए।

कार्यक्रममा श्रीकृष्ण माझी, सुपक अधिकारी, रामकृष्ण शर्मा, नवीन कँडेल, प्रकाश पौडेल, क्षितिज सापकोटा, पुष्कर कोइराला, आरजू गिरी र कुमाराज सुवेदीले आफ्ना सिर्जना वाचन गरेका थिए भने टीकाराम रेग्मीले लघुकथा प्रस्तुत गरेका थिए। कार्यक्रमको सञ्चालन देवराज कँडेलले गरेका थिए। नेपालबाट अष्ट्रेलिया भ्रमणमा आएका अभिभावकहरूको समेत सहभागिता रहेको कार्यक्रममा साहित्यप्रेमी स्रोताहरूको उत्साहजनक उपस्थितिले कार्यक्रमलाई थप गरिमामय बनाएको आयोजकले जनाएको छ।

कार्यक्रम सफल बनाउन एडिलेडले स्थल व्यवस्थापन तथा आवश्यक सहयोग गरेको थियो। त्यस्तै, नेपाली बुक्स अस्ट्रेलिया (Nepali Books Australia) ले नेपाली पुस्तकहरू उपलब्ध गराएर कार्यक्रमलाई सहयोग पुर्‍याएको थियो। कार्यक्रममा सहभागीहरूमध्ये तीन जनालाई गोला प्रथामार्फत नेपाली पुस्तकहरू उपहारस्वरूप वितरण गरिएको थियो।

कार्यक्रम सम्पन्न भएपछि साहित्य अनुरागी एडिलेडले सहभागी सम्पूर्ण स्रष्टा, साहित्यप्रेमी, सहयोगी संस्था तथा स्वयंसेवकहरूप्रति हार्दिक आभार व्यक्त गर्दै प्रवासमा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि यस्ता साहित्यिक शृङ्खलालाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

“भाषा हाम्रो पहिचान हो, साहित्य हाम्रो आत्मा हो” भन्ने मूल सन्देशका साथ सम्पन्न भएको उक्त कार्यक्रमले प्रवासमा नेपाली साहित्यिक गतिविधिलाई थप सशक्त बनाउने विश्वास आयोजकले व्यक्त गरेको छ।