सिड्नी (अष्ट्रेलिया) – नेपाली संगीतका स्वर्णिम स्वरका धनी तथा सदाबहार गायक दीप श्रेष्ठ आगामी अगस्ट ८, शनिबार पश्चिम सिड्नीमा आफ्नो सांगीतिक टोलीसहित विशेष प्रस्तुति दिन आउँदै छन्। Harold Corr Community Hall, Werrington मा आयोजना हुने यो कार्यक्रमलाई पश्चिम सिड्नीमा बसोबास गर्ने नेपाली समुदायका लागि ऐतिहासिक अवसरका रूपमा लिइएको छ, किनभने यस क्षेत्रमा पहिलोपटक दीप श्रेष्ठको प्रत्यक्ष सांगीतिक प्रस्तुति हुन लागेको हो।
कार्यक्रममा दीप श्रेष्ठले आफ्ना दशकौँदेखि नेपाली संगीतप्रेमीको मन जित्दै आएका कालजयी तथा लोकप्रिय गीतहरू प्रस्तुत गर्नेछन्। सांगीतिक प्रस्तुतिसँगै नेपाली कला र संस्कृतिलाई झल्काउने विविध सांस्कृतिक नृत्य, फेस पेन्टिङ तथा कार्यक्रम सम्पन्न भएपछि हरितालिका तीज विशेष नाचगान समेत आयोजना गरिनेछ। यसले विदेशमा रहेका नेपालीहरूलाई आफ्नै भाषा, संस्कृति र चाडपर्वसँग थप नजिक ल्याउने अपेक्षा गरिएको आयोजकको भनाइ छ।
कार्यक्रमको आयोजना Nepalese Community of Western Sydney र Penrith Gorillas Soccer Club ले संयुक्त रूपमा गरेका हुन्। आयोजक संस्थाका अध्यक्ष हरि श्रेष्ठका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी लगभग पूरा भइसकेको छ र समुदायबाट उत्साहजनक साथ तथा सहभागिताको अपेक्षा गरिएको छ।
उहाँले विदेशमा बसोबास गर्ने नेपाली समुदायलाई आफ्नै मौलिक कला, संस्कृति र संगीतसँग जोड्दै नयाँ पुस्तामा नेपालीपनको भावना अझ मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। “यो केवल सांगीतिक कार्यक्रम मात्र होइन, नेपाली समुदायलाई एकै ठाउँमा जोड्ने सांस्कृतिक उत्सव पनि हो,” उहाँले भन्नुभयो।
कार्यक्रमको प्रवेश शुल्क ६० अष्ट्रेलियन डलर निर्धारण गरिएको छ, जसमा बेलुकीको डिनर समेत समावेश गरिएको छ।
यस विशेष सांगीतिक साँझको मुख्य प्रायोजक QCE Financial रहेको छ। त्यसैगरी Mark Q Homes, Urbane Real Estate, Advance College तथा Primo Education & Visa Service ले कार्यक्रम तथा क्लबलाई निरन्तर प्रायोजन र सहयोग गर्दै आएका छन्।
आयोजकले पश्चिम सिड्नीसहित सिड्नीका विभिन्न क्षेत्रका नेपाली समुदायलाई समयमै टिकट सुरक्षित गरी नेपाली संगीतका अमर स्वर दीप श्रेष्ठका कालजयी गीतहरू प्रत्यक्ष सुन्न, नेपाली संस्कृति र तीजको रौनकसँग रमाउन तथा अविस्मरणीय सांगीतिक साँझको हिस्सा बन्न आग्रह गरेका छन्।


तपाइँको प्रतिक्रीया