२०८३ श्रावाण ५ मङ्गलबार

एनआरएनए अष्ट्रेलियाको नारिनीकुञ्ज महिला फोरमद्वारा एडिलेडमा योग तथा ध्यान कार्यक्रम सम्पन्न

  • admin २०८३ श्रावाण ४ सोमबार

एडिलेड,अष्ट्रेलिया – एनआरएनए अष्ट्रेलियाअन्तर्गत नारिनीकुञ्ज महिला फोरमद्वारा सञ्चालित ‘नेशनल वुमन इम्पावरमेन्ट सिरिज २०२६’ अन्तर्गत “Living Healthy and Happily, Inner & Outer Through Yoga & Meditation” शीर्षकको स्वास्थ्य तथा सचेतना कार्यक्रम एडिलेडमा सम्पन्न भएको छ।

कार्यक्रममा सहभागीहरूले योग, ध्यान, आत्म–हेरचाह (self-care) तथा आपसी सम्बन्ध सुदृढीकरणका माध्यमबाट शारीरिक र मानसिक स्वास्थ्यप्रति सचेत बन्ने अवसर पाएको आयोजकले जनाएको छ। कार्यक्रममा समुदायका विभिन्न उमेर समूहका व्यक्तिहरूको सहभागिता रहेको थियो। योग तथा ध्यान सत्रको सहजीकरण श्री सरिता र पुष्कर कोइरालाले गरेका थिए। उनीहरूले दैनिक जीवनमा योग र ध्यानको महत्व, तनाव व्यवस्थापन, मानसिक शान्ति तथा स्वस्थ जीवनशैली अपनाउने उपायबारे जानकारी दिएका थिए।

कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने प्रायोजक, सहयोगी संस्था तथा साझेदारहरूलाई आयोजकले धन्यवाद व्यक्त गरेको छ। साथै, एनआरएनए दक्षिण अष्ट्रेलिया, एडिलेड नेपाल, स्वयंसेवकहरू तथा सहभागीहरूको सहयोगले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको नारिनीकुञ्ज महिला फोरमकी राष्ट्रिय महिला संयोजक रिज्नू अधिकारीले बताइन्। उनका अनुसार यस्ता कार्यक्रमले समुदायमा  स्वस्थ जीवनशैली, मानसिक सन्तुलन र सामाजिक सम्बन्धलाई अझ मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। “हामी सबै मिलेर अझ स्वस्थ, खुसी र सशक्त समुदाय निर्माण गर्ने यात्रालाई निरन्तरता दिनेछौं,” अधिकारीले भनिन्।

कार्यक्रम ‘नेशनल वुमन इम्पावरमेन्ट सिरिज २०२६’ अन्तर्गत आयोजना गरिएको हो, जसले अष्ट्रेलियामा रहेका नेपाली समुदाय विशेषगरी महिलाहरूको स्वास्थ्य, आत्मविश्वास, नेतृत्व विकास तथा सामुदायिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ।