एडिलेड,अष्ट्रेलिया — नेपाली सङ्गीतका दुई चर्चित तथा लोकप्रिय गायक दीप श्रेष्ठ र रामकृष्ण ढकाल आगामी ३१ जुलाई २०२६ शुक्रबार एडिलेडमा एउटै मञ्चमा प्रस्तुत हुने भएका छन्। नेपाली सङ्गीतका दुई पुस्ताका प्रतिनिधि यी दुई कालजयी कलाकारलाई एकैसाथ प्रत्यक्ष सुन्न पाउने अवसरका रूपमा हेरिएको यस कार्यक्रमप्रति एडिलेडवासी नेपाली समुदायमा उत्साह बढ्दो छ।
सारङ्गी इभेन्ट्सको आयोजना तथा Kentford Institute र Expert Education & Visa Services को प्रस्तुतिमा हुने ‘दीप श्रेष्ठ एवं रामकृष्ण ढकाल – स्वर्णिम सांगीतिक साँझ’ प्लिम्पटन पार्कस्थित Everest Restaurant & Event Centre मा साँझ ६ बजेदेखि सुरु हुनेछ।

कार्यक्रममा पाँच दशकभन्दा लामो समयदेखि नेपाली सङ्गीतमा सक्रिय रहेका सदाबहार गायक दीप श्रेष्ठले आफ्ना कालजयी गीत ‘म त दूरदेखि आएँ’, ‘म पत्थरको देवता होइन’, ‘झस्किएको छ मन मेरो’, ‘बितेका कुराले’ लगायतका लोकप्रिय सिर्जनाहरू लाइभ ब्याण्डसहित प्रस्तुत गर्नेछन्। उहाँको प्रस्तुतिलाई गिटारवादक विक्रम कार्की र तबलावादक शम्भु बनियाँसहितको सांगीतिक टोलीले साथ दिनेछ।
त्यसैगरी, आधुनिक नेपाली सङ्गीतका लोकप्रिय गायक रामकृष्ण ढकालले ‘ओराली लागेको हरिणको चाल भो’, ‘बाँचुन्जेललाई’, ‘प्रियसीका यादहरू’ लगायत आफ्ना चर्चित चर्चित नयाँ तथा पुराना गीतमार्फत दर्शकलाई सांगीतिक आनन्द दिनेछन्। नेपाली सङ्गीतका दुई फरक पुस्ताका यी चर्चित स्वर लाइभ ब्याण्डसहित एउटै मञ्चमा गुञ्जिने भएकाले कार्यक्रम विशेष आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ।
सारङ्गी इभेन्ट्सका निर्देशक हेम श्रेष्ठले नेपाली सङ्गीतका दुई प्रतिष्ठित कलाकारलाई एउटै मञ्चमा प्रस्तुत गर्न पाउनु आफ्ना लागि गौरवको विषय भएको बताउनुभयो। उहाँले यो कार्यक्रम एडिलेडवासी नेपाली समुदायका लागि अविस्मरणीय सांगीतिक साँझ बन्ने विश्वास व्यक्त गर्दै नेपाली सङ्गीतप्रेमी सबैलाई सहभागिताका लागि आग्रह गर्नुभयो।
आयोजकका अनुसार कार्यक्रमस्थलको क्षमताअनुसार सीमित सिट मात्र उपलब्ध रहने भएकाले समयमै टिकट सुरक्षित गर्न अनुरोध गरिएको छ। टिकट बिक्री चाँडै सुरु गरिने निर्देशक हेम श्रेष्ठले जानकारी दिनुभएको छ।
यसैबीच, दीप श्रेष्ठ तथा उहाँको सांगीतिक टोलीले एडिलेडपछि मेलबर्न, सिड्नी लगायत अष्ट्रेलियाका विभिन्न राज्य र सहरहरूमा पनि सांगीतिक प्रस्तुति दिने कार्यक्रम रहेको छ। यस सांगीतिक यात्रामार्फत अष्ट्रेलियाका विभिन्न स्थानमा रहेका नेपाली समुदायले उहाँका कालजयी गीतहरू प्रत्यक्ष रूपमा सुन्ने अवसर प्राप्त गर्नेछन्।
नेपाली सङ्गीतका दुई कालजयी स्वरलाई एउटै मञ्चमा, लाइभ ब्याण्डसहित प्रत्यक्ष सुन्न पाउने दुर्लभ अवसर भएकाले कार्यक्रममा उल्लेखनीय दर्शक सहभागिता रहने आयोजकको अपेक्षा छ। ‘स्वर्णिम सांगीतिक साँझ’ एडिलेडको नेपाली समुदायका लागि यस वर्षकै सबैभन्दा विशेष सांगीतिक कार्यक्रममध्ये एक बन्ने विश्वास गरिएको छ।


तपाइँको प्रतिक्रीया