काठमाडौँ । विदेश अध्ययन नेपाली युवाका लागि अवसरसँगै चुनौतीपूर्ण क्षेत्र बन्दै गएको सन्दर्भमा यसलाई सुरक्षित, व्यवस्थित र परिणाममुखी बनाउन गैरआवासीय नेपाली संघ (एनआरएनए) र शैक्षिक परामर्शदाताहरूको संघ नेपाल नेपाल शिक्षा परामर्श संघबीच (ईक्यान) बीच सहकार्य अघि बढाइएको छ।

आइतबार सम्पन्न परिचयात्मक बैठकमा एनआरएनएका अध्यक्ष डा. हेमराज शर्मा र ईक्यानका अध्यक्ष लक्ष्मण पौडेल (एन्ड्र्यू) सहित दुवै संस्थाका पदाधिकारीहरूको सहभागिता रहेको थियो। बैठकले विद्यार्थी कल्याणलाई केन्द्रमा राख्दै दीर्घकालीन सहकार्यका आधार तय गरेको जनाएको छ।
छलफलमा विदेश अध्ययनका लागि प्रस्थानपूर्व अभिमुखीकरण (पीडीओ) लाई थप प्रभावकारी र गुणस्तरीय बनाउने, परामर्श सेवाको स्तर सुधार गर्ने तथा विदेश जाने विद्यार्थीलाई आवश्यक सूचना, मार्गदर्शन र सहयोगलाई संस्थागत रूपमा विस्तार गर्ने विषयमा जोड दिइएको छ। त्यसैगरी, ‘नेपाली क्यारियर पोर्टल’ विकास गर्ने विषयमा सहमति जुटेको छ, जसले अध्ययनपछि रोजगारी, क्यारियर अवसर र सूचना प्रणालीलाई एकीकृत गर्ने लक्ष्य राख्नेछ।
बैठकमा परामर्शदाताहरूको क्षमता अभिवृद्धिका लागि नियमित तालिम सञ्चालन गर्ने, विभिन्न देश र क्षेत्रअनुसार सीप म्यापिङ गर्ने, तथा पाइलट परियोजनामार्फत विद्यार्थी सहयोग प्रणाली परीक्षण गर्ने विषयमा पनि सहकार्य गर्ने निर्णय गरिएको छ। विद्यार्थीको मानसिक स्वास्थ्य र मनोसामाजिक सचेतनालाई प्राथमिकतामा राख्दै विशेष कार्यक्रम सञ्चालन गर्ने तयारीसमेत गरिएको छ। साथै, स्वास्थ्य बीमा, छात्रवृत्ति सम्बन्धी सूचना प्रवाह र विद्यार्थी कर व्यवस्थापन जस्ता विषयमा नीतिगत सुधारका लागि सम्बन्धित निकायसँग संयुक्त रूपमा वकालत गर्ने सहमति भएको छ। बैठकले छिट्टै औपचारिक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गर्ने तयारी गरेको छ।
यसैबीच, ईक्यानले एनआरएनएका अध्यक्ष डा. हेमराज शर्मालाई ९ अप्रिलदेखि आफ्नो मानार्थ सल्लाहकारका रूपमा राख्ने प्रतिबद्धता जनाएको छ। साथै, शैक्षिक परामर्श क्षेत्रमा हुने अनैतिक अभ्यासविरुद्ध ‘शून्य सहनशीलता’ नीति कडाइका साथ लागू गर्ने प्रतिबद्धता पनि दोहोर्याइएको छ।
बैठकले नियमित भर्चुअल अभिमुखीकरण, एयरपोर्ट सहयोग र प्रशासनिक सहजीकरणमा समेत सहकार्य गर्ने सहमति जनाएको छ।

तपाइँको प्रतिक्रीया