डार्विन,अष्ट्रेलिया | अष्ट्रेलियाको उत्तरी क्षेत्रस्थित डार्विनमा आयोजना हुन लागेको “नेपाल फेस्टिभल डार्विन २०२६” यस वर्ष झन् भव्य र आकर्षक हुने भएको छ। Non-Resident Nepali Association Northern Territory ले सार्वजनिक गरेको जानकारीअनुसार आगामी जुन १३, २०२६ शनिबारका दिन डार्विनको प्रसिद्ध डार्विन वाटरफ्रन्ट (Darwin Waterfront) मा दिउँसो २ बजेदेखि राति १० बजेसम्म कार्यक्रम सञ्चालन हुनेछ।
यस फेस्टिभलको मुख्य आकर्षणका रूपमा नेपाली सांगीतिक क्षेत्रका चर्चित कलाकारहरू कर्मा ब्याण्ड र अर्जुन सापकोटा को प्रत्यक्ष प्रस्तुति रहनेछ। नेपाली रक संगीतलाई नयाँ उचाइमा पुर्याएको कर्मा ब्याण्डले ‘हुक्का मेरो’, ‘कहाँ होला घरबारा’, ‘यानी माया’, ‘को हौ तिमी’ र ‘छैन मैले’ जस्ता कालजयी गीतहरू प्रस्तुत गर्दै दर्शकलाई भावनात्मक तथा ऊर्जावान बनाउने अपेक्षा गरिएको छ। पुस्तौंदेखि नेपाली संगीतप्रेमीहरूको मन जित्दै आएको यस ब्याण्डको प्रस्तुति फेस्टिभलको प्रमुख आकर्षण रहनेछ।
त्यसैगरी, आधुनिक लोक तथा पप शैलीका लोकप्रिय गायक अर्जुन सापकोटाले ‘झलिको’, ‘बस्यौ अलग्गै’, ‘बाँकी चरी’, ‘बम्मै जाने’, ‘मौरी रसैमा’, ‘दुख सताम्ला’ र ‘पानी परेको’ जस्ता चर्चित गीतमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन्। उनको ऊर्जा र प्रस्तुति शैलीले कार्यक्रमलाई अझ जीवन्त बनाउने विश्वास गरिएको छ।
फेस्टिभलबारे जानकारी दिँदै एनआरएनए एनटीका अध्यक्ष त्रिलोचन सापकोटाले अष्ट्रेलियाभरि रहेका नेपाली समुदाय तथा अन्य मित्रहरूलाई कार्यक्रममा सहभागी हुन हार्दिक निमन्त्रणा दिएका छन्। उनले यो कार्यक्रम डार्विनमा आयोजना हुने एक महत्वपूर्ण सांस्कृतिक उत्सव भएको उल्लेख गर्दै नेपाली कला, संस्कृति र पहिचानलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष गर्वका साथ प्रस्तुत गर्ने अवसरका रूपमा व्याख्या गरेका छन्। साथै, उनले समुदायको एकता, सहकार्य र सक्रिय सहभागिताबाट मात्र यस्ता कार्यक्रमहरू सफल हुने भएकाले सबैलाई सहभागी भई सहयोग गर्न आग्रह गरेका छन्।
“One Country, Many Stories” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस फेस्टिभलले विविधता, बहुसांस्कृतिक सहअस्तित्व र नेपाली पहिचानलाई विश्वमाझ प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। अष्ट्रेलियामा रहेका नेपालीहरूबीच आपसी सम्बन्ध सुदृढ गर्नुका साथै नयाँ पुस्तालाई आफ्नै भाषा, संस्कृति र परम्परासँग जोड्ने महत्वपूर्ण अवसरका रूपमा यसलाई लिइएको छ।
आयोजकले सबै समुदाय, सबै उमेर समूह र सबै पृष्ठभूमिका व्यक्तिहरूलाई उपस्थित भई संगीत, संस्कृति र एकताको यस महोत्सवलाई सफल बनाउन तथा अविस्मरणीय अनुभव लिन हार्दिक आमन्त्रण गरेका छन्। नेपाल फेस्टिभल डार्विन २०२६ केवल मनोरञ्जनको कार्यक्रम मात्र नभई नेपालीपन, पहिचान र एकताको उत्सवका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ


तपाइँको प्रतिक्रीया