पर्थ- पश्चिम अष्ट्रेलियाको पर्थमा बसोबास गर्दै आएका नेपाली समुदायका लागि लक्षित गर्दै ‘राहदानी नवीकरण घुम्ती शिविर’ आयोजना गरिने भएको छ। नेपाली राजदूतावास क्यानबेरा र गैरआवासीय नेपाली संघ (NRNA) पश्चिम अष्ट्रेलियाको संयुक्त पहलमा उक्त शिविर सञ्चालन हुन लागेको हो।
समुदायका सदस्यहरूको सहजता र सेवामा पहुँचलाई ध्यानमा राख्दै आयोजना गर्न लागिएको यस शिविरमा राहदानी नवीकरण गर्न चाहनेहरूले समयमै अनलाइनमार्फत आफ्नो अपोइन्टमेन्ट सुरक्षित गर्न आयोजकले अनुरोध गरेका छन्। अपोइन्टमेन्ट ‘पहिलो आउनेलाई पहिलो प्राथमिकता’ (First-come, first-served) का आधारमा उपलब्ध गराइने भएकाले ढिलाइ नगरी बुकिङ गर्न विशेष आग्रह गरिएको छ।
यो घुम्ती शिविर आगामी अप्रिल ३० देखि मे ३, २०२६ सम्म सञ्चालन हुनेछ। शिविरको ठ्याक्कै स्थान भने केही दिनभित्र सार्वजनिक गरिने जनाइएको छ।

राहदानी नवीकरणका लागि आवश्यक अपोइन्टमेन्ट https://passport.daanfe.com.au मार्फत बुक गर्न सकिनेछ। साथै, शिविरसँग सम्बन्धित तत्काल जानकारी, छलफल तथा अपडेटहरू प्राप्त गर्नका लागि आधिकारिक ह्वाट्सएप समूहसमेत सञ्चालनमा ल्याइएको छ, जसमा सहभागी भई सेवाबारे थप जानकारी लिन सकिनेछ। ह्वाट्सएप ग्रुप https://chat.whatsapp.com/JCUPKJ8xkRG3MG6Ji4SzIt
एनआरएनए पश्चिम अष्ट्रेलियाका संयोजक हरिवंश सञ्जेल (सुमन) ले यस कार्यक्रमले पर्थमा रहेका नेपाली समुदायलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरेका छन्। उनले भने, “दूरदराजमा रहेका नेपालीहरूलाई क्यानबेरासम्म पुगेर सेवा लिनुपर्ने बाध्यता कम गर्न यस्तो घुम्ती शिविर अत्यन्तै प्रभावकारी हुन्छ। हामीले सकेसम्म सहज, छिटो र व्यवस्थित सेवा प्रदान गर्ने लक्ष्य राखेका छौं।” उनले सबैलाई समयमै बुकिङ गरेर अवसरको सदुपयोग गर्न समेत आग्रह गरेका छन्।
यस कार्यक्रमलाई सफल बनाउन एनआरएनए पश्चिम अष्ट्रेलियाले सम्पूर्ण पर्थबासी नेपालीहरूलाई सक्रिय सहभागिताका लागि आह्वान गरेको छ। विस्तृत जानकारीका लागि संस्थाको आधिकारिक फेसबुक पेज फलो गर्न पनि अनुरोध गरिएको छ।
विदेशमा बसोबास गर्ने नेपालीहरूका लागि राहदानी नवीकरण जस्ता आधारभूत सेवाहरूलाई सहज र पहुँचयोग्य बनाउन यस्ता घुम्ती शिविरहरू प्रभावकारी माध्यम बन्दै आएका छन्।

तपाइँको प्रतिक्रीया