२०८३ जेठ २१ बिहीबार

सदनमा सांसदले ध्वंसात्मक गतिविधि गरे क्षतिपूर्ति उसैबाट भराइने

  • admin २०८३ बैशाख ८ मङ्गलबार

काठमाडौं । प्रतिनिधिसभामा सांसदहरूले ध्वंसात्मक गतिविधि गरेर भौतिक क्षति पुर्‍याएमा अब उनीहरूबाटै क्षतिपूर्ति असुल गरिने भएको छ।

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले तयार पारेको नयाँ मस्यौदामा संसद्को मर्यादा, अनुशासन र सुव्यवस्था कायम राख्न सभामुखलाई विशेष अधिकार दिने प्रावधान उल्लेख गरिएको छ।

कुनै सांसदले बैठक कक्षमा अशान्ति सिर्जना गरेमा, ध्वंसात्मक गतिविधि गरेमा वा भौतिक क्षति पुर्‍याएमा सभामुखले तत्काल मर्यादापालकमार्फत त्यस्ता सदस्यलाई बैठक कक्षबाट निष्कासन गर्न सक्नेछन्।

साथै, दोषी सदस्यलाई बढीमा १५ दिनसम्म निलम्बन गर्न र भएको क्षतिको क्षतिपूर्ति भराउन आदेश दिन सक्ने प्रावधान राखिएको छ। निलम्बित सदस्यले उक्त अवधिभर प्रतिनिधिसभा तथा कुनै पनि समितिको बैठकमा सहभागी हुन पाउने छैनन्।

निलम्बन र त्यसको फुकुवासम्बन्धी जानकारी सम्बन्धित समिति र संसदीय दललाई सचिवालयले दिने व्यवस्था पनि गरिएको छ।

यस्तै, बैठक सम्पन्न भएपछि पनि कुनै सदस्यबाट अनुशासनहीन वा ध्वंसात्मक गतिविधि भएको पुष्टि भएमा सभामुखले पछि पनि कारबाही गर्न सक्ने व्यवस्था मस्यौदामा राखिएको छ। तर यस्तो कारबाही अघि सम्बन्धित सदस्यलाई आफ्नो सफाइ पेस गर्ने अवसर दिनुपर्ने उल्लेख गरिएको छ।