एडिलेड ,अष्ट्रेलिया / अष्ट्रेलियाको एडिलेडमा नेपाली संगीतप्रेमीहरूका लागि बहुप्रतीक्षित सांगीतिक कार्यक्रम नजिकिँदै जाँदा माहोल दिनानुदिन तातिँदै गएको छ। नेपालका चर्चित गायक कुम सागर तथा उनको ख्वोप ब्यान्डले आगामी मे १ मा वुडभिल टाउन हलमा प्रत्यक्ष प्रस्तुति दिने तयारी अन्तिम चरणमा पुगेको छ।
कार्यक्रम साँझ ५ बजेदेखि सुरु हुने तय गरिएको छ। आयोजकका अनुसार प्रारम्भिक तथा पहिलो चरणका टिकटहरू पूर्ण रूपमा बिक्री भइसकेका छन् भने अहिले अन्तिम चरणका सीमित टिकट मात्र बाँकी रहेका छन्। दर्शकको उच्च उत्साहका कारण टिकट छिट्टै सकिने अनुमान गरिएको छ।
अघिल्लो अष्ट्रेलिया भ्रमणको प्रभाव
कुम सागर र उनको ख्वोप ब्यान्ड यसअघि पनि अष्ट्रेलियाका विभिन्न सहरहरूमा सफल सांगीतिक यात्रा गरिसकेका कलाकार हुन्। “हावाको लहरसँगै अष्ट्रेलिया भ्रमण २०२५” अन्तर्गत उनीहरूले सिड्नी, ब्रिसबेन, क्यानबेरा, होबार्ट, पर्थ हुँदै मेलबर्नसम्म आफ्नो प्रस्तुति दिएका थिए। उक्त भ्रमणका क्रममा उनीहरूले सिड्नीस्थित ऐतिहासिक एनमोर थिएटरमा प्रस्तुति दिँदै विशेष उपलब्धि हासिल गरेका थिए भने न्यू साउथ वेल्स कला सङ्ग्रहालयमा प्रत्यक्ष रेकर्डिङ गर्ने पहिलो नेपाली कलाकार बन्न सफल भएका थिए।
उनीहरूको प्रस्तुति नेपाली मौलिकपनले भरिपूर्ण हुने भएकाले विदेशमा रहेका नेपालीबीच विशेष लोकप्रियता हासिल गरेको छ। विशेषगरी, उनीहरूले खिँ, धीमाय, मादल, सारंगी, झ्यालीजस्ता परम्परागत नेपाली बाजाहरूलाई आधुनिक संगीतसँग समायोजन गर्दै प्रत्यक्ष रूपमा बजाउने शैलीले दर्शकलाई नेपालकै झल्को दिलाउने गरेको छ। अघिल्लो भ्रमणमा पनि उनीहरूले यिनै मौलिक बाजाहरू बोकेर अष्ट्रेलियाका मञ्चहरूमा प्रस्तुत गर्दा “नेपालमै पुगेजस्तो” अनुभूति गराएको दर्शकहरूको प्रतिक्रिया थियो।
आयोजकको आग्रह: अब ढिला नगर्नुहोस्
कार्यक्रमका आयोजक SK-Events Adelaide का निर्देशक कमल थापा मगरका अनुसार यो कन्सर्ट केवल मनोरञ्जन नभई सांस्कृतिक अनुभव पनि हुनेछ। उनले भने, “हामीले यसपटक एडिलेडमा साँच्चिकै नेपाल झार्ने प्रयास गरेका छौं। कुम सागर र ख्वोप ब्यान्डको प्रस्तुति सुन्दा दर्शकले आफू नेपालमै रहेको अनुभूति गर्नेछन्। अघिल्लो अष्ट्रेलिया भ्रमणमा देखिएको उत्साहले यसपटक कार्यक्रम अझ भव्य हुने विश्वास गरेका छौं।” थापाका अनुसार दर्शकको माग अत्यधिक भएकाले ढिलाइ नगरी टिकट सुरक्षित गर्न सबैलाई आग्रह गरिएको छ।
किन विशेष छ यो कन्सर्ट ?
यो कार्यक्रम नेपाली मौलिक संगीत, संस्कृति र पहिचानको उत्सवका रूपमा प्रस्तुत हुनेछ। परम्परागत बाजा र आधुनिक संगीतको समिश्रण, प्रत्यक्ष प्रस्तुति र दर्शकसँगको आत्मीय सम्बन्धले कन्सर्टलाई अझ विशेष बनाउने अपेक्षा गरिएको छ। एडिलेडमा आयोजना हुन लागेको कुम सागरको लाइभ कन्सर्ट नेपाली समुदायका लागि केवल सांगीतिक कार्यक्रम मात्र नभई आफ्नो पहिचान, संस्कृति र मौलिकतासँग पुनः जोडिने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
आयोजकले सबैलाई समयमै टिकट सुरक्षित गरी साथीभाइसँग सहभागी भई नेपालीपन झल्काउने यस सांगीतिक उत्सवमा सहभागी हुन आग्रह गरेका छन्।
https://tixort.au/…/kuma-sagar-the-khwopa-live-in…/


तपाइँको प्रतिक्रीया