२०८३ जेठ २१ बिहीबार

राजनीति सिक्ने ठाउँ कक्षा हो, भीड होइन : प्रधानमन्त्री बालेन

  • admin २०८३ बैशाख २२ मङ्गलबार

काठमाडौं ।प्रधानमन्त्री बालेन्द्र शाहले शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत राजनीतिक प्रभावबाट मुक्त गर्न सरकारले कठोर कदम चालेको बताएका छन्। वर्षौंदेखि जरा गाडेर बसेको ‘पार्टीकरण’ को संस्कृतिले राज्य प्रणालीलाई नै कमजोर बनाएको उल्लेख गर्दै उनले अब योग्यता र क्षमतालाई मात्र आधार बनाइने स्पष्ट पारेका छन्।

मंगलबार सामाजिक सञ्जाल  फेसबुक मार्फत सार्वजनिक धारणा व्यक्त गर्दै प्रधानमन्त्री शाहले विद्यार्थी र कर्मचारी संगठनहरू दलको हितमा काम गर्ने ‘स्लिपर सेल’ जस्तो बनेको टिप्पणी गरे। “वर्षौंदेखि योग्यताभन्दा पहुँच र क्षमताभन्दा झोला र झण्डाको मूल्य बढाइयो, जसले प्रणालीप्रति जनताको विश्वास कमजोर बनायो,” उनले लेखेका छन्।

उनका अनुसार अब शिक्षालयमा दलका झण्डा र कर्मचारीतन्त्रमा दलगत प्रभाव निषेध गरिनेछ। “त्यसैले स्पष्ट निर्णय आवश्यक थियो—शिक्षालयमा दलको झण्डा र कर्मचारीतन्त्रमा दलको झोला निषेध,” उनले उल्लेख गरेका छन्।

प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टी ले संगठन विस्तार गर्न नसकेर यस्तो निर्णय गरिएको भन्ने आरोप अस्वीकार गरेका छन्। विगतका अनुभवबाट सिक्दै थप दलगत संगठनले शिक्षाको गुणस्तर नबढ्ने निष्कर्षसहित यस्तो कदम चालिएको उनको भनाइ छ।

सरकारले हालै अध्यादेशमार्फत यी क्षेत्रमा देखिएका विकृति हटाउने निर्णय गरेको जानकारी दिँदै उनले यसले पेशागत स्वतन्त्रता अझ सुदृढ हुने दाबी गरे। “विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून्, नेताको भीडबाट होइन,” उनले भने, “हामी चाहन्छौँ विद्यार्थीले सभ्यता, विचार र जिम्मेवारीको राजनीति सिकून् र कर्मचारीले नेताको छहारी होइन, विधिको मार्ग रोजून्।”

यो कदम कुनै दलविरुद्धको अभियान नभई देशलाई दलगत कब्जाबाट मुक्त गरी संस्थागत मार्गमा अघि बढाउने प्रयास भएको उनले स्पष्ट पारे। परिवर्तन भाषणले नभई निर्णयबाट आउने उल्लेख गर्दै प्रधानमन्त्री शाहले नियुक्ति, सरुवा र बढुवामा अब दलगत निकटता होइन, विधि, क्षमता र दक्षता मात्र आधार बन्ने विश्वास व्यक्त गरेका छन्।