पर्थ -पश्चिम अष्ट्रेलियाको पर्थमा बसोबास गर्दै आएका नेपाली समुदायका लागि नेपाली राजदूतावास क्यानबेरा र गैरआवासीय नेपाली संघ (NRNA) वेस्टर्न अष्ट्रेलियाको संयुक्त पहलमा सञ्चालन गरिएको मोबाइल राहदानी नवीकरण सेवा शिविर सफलतापूर्वक सम्पन्न भएको छ। अप्रिल ३० देखि मे ४, २०२६ सम्म सञ्चालन गरिएको पाँच दिने उक्त शिविरमार्फत कुल ५५८ जना नेपाली समुदायका सदस्यहरूले सहज रूपमा राहदानी नवीकरण सेवा प्राप्त गरेका हुन्।
राजधानीबाट टाढा रहेका नेपालीहरूलाई राहदानी सेवा लिन क्यानबेरासम्म यात्रा गर्नुपर्ने बाध्यता कम गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमप्रति समुदायको उल्लेखनीय उत्साह र सहभागिता देखिएको थियो। शिविर अवधिभर सेवाग्राहीहरूको व्यवस्थापन, अपोइन्टमेन्ट प्रणाली, स्वयंसेवकहरूको सहयोग तथा दूतावासका कर्मचारीहरूको सेवा प्रभावकारी रहेको सहभागीहरूले बताएका छन्। कार्यक्रममा सहभागीहरूले दूतावासका कर्मचारीहरूको व्यावसायिकता, छिटो तथा प्रभावकारी सेवा, स्पष्ट सूचना प्रवाह, स्वयंसेवकहरूको सहयोग तथा राम्रो व्यवस्थापनको खुलेर प्रशंसा गरेका छन्। विशेषगरी पश्चिम अष्ट्रेलियामै सेवा उपलब्ध हुँदा समुदायले अन्तरराज्यीय यात्रा, अतिरिक्त खर्च तथा समयको झन्झटबाट ठूलो राहत पाएको बताइएको छ।
एनआरएनए पश्चिम अष्ट्रेलियाका संयोजक हरिवंश सञ्जेल (सुमन) ले कार्यक्रम अपेक्षाभन्दा धेरै सफल भएको प्रतिक्रिया दिएका छन्। उनले भने, “पर्थमा रहेका नेपाली समुदायका लागि यो कार्यक्रम अत्यन्त उपलब्धिमूलक र राहतपूर्ण रह्यो। समुदायले लामो यात्रा, अतिरिक्त खर्च र समयको बचत गर्दै आफ्नै राज्यमा सेवा लिन पाउनु ठूलो उपलब्धि हो। दूतावास, स्वयंसेवक, विभिन्न संघसंस्था तथा सम्पूर्ण समुदायको साथ र सहयोगले कार्यक्रम भव्य रूपमा सफल भयो। आगामी दिनमा पनि यस्ता सेवाहरूलाई अझ प्रभावकारी, नियमित र पहुँचयोग्य बनाउन हामी निरन्तर पहल गर्नेछौं।” सञ्जेलले समयमै अपोइन्टमेन्ट बुक गरेर कार्यक्रममा सहभागी हुने सम्पूर्ण समुदायप्रति आभार व्यक्त गर्दै स्वयंसेवकहरूको योगदानको समेत विशेष प्रशंसा गरेका छन्।
यस मोबाइल सेवा शिविरका कारण पश्चिम अष्ट्रेलियामा रहेका नेपालीहरूले अन्तरराज्यीय यात्रा, बसोबास, यातायात तथा बिदा खर्चतर्फ सामूहिक रूपमा करिब ८ लाख ५० हजार अष्ट्रेलियन डलरसम्म बचत गर्न सफल भएको आयोजक संस्थाले जारी गरेको सूचनामा जनाइएको छ। यसले समुदायको आर्थिक भार मात्र घटाएको छैन, परिवार र कामबाट टाढा बस्नुपर्ने अवस्थालाई समेत कम गरेको आयोजकहरूको भनाइ छ।
एनआरएनए वेस्टर्न अष्ट्रेलियाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने नेपाली दूतावास क्यानबेरा, दूतावासका अधिकारीहरू, स्वयंसेवक, साझेदार संस्था तथा सम्पूर्ण नेपाली समुदायप्रति हार्दिक धन्यवाद ज्ञापन गरेको छ। आयोजकका अनुसार यस कार्यक्रमले पश्चिम अष्ट्रेलियामा रहेका नेपालीहरूलाई सहज र पहुँचयोग्य कन्सुलर सेवा उपलब्ध गराउनुका साथै समुदायबीच सहकार्य, एकता र आपसी विश्वासलाई समेत थप मजबुत बनाएको छ।


तपाइँको प्रतिक्रीया