काठमाडौं । पश्चिम नेपालकै प्रख्यात धार्मिक तथा पर्यटकीय गन्तव्य सुपादेउराली मन्दिरमा नयाँ व्यवस्थापन समिति गठन भएको छ ।
सन्धिखर्क नगरपालिकाको वार्ड नं. ७ मा अवस्थित यस ऐतिहासिक स्थलको समग्र विकास र व्यवस्थापनका लागि स्थानीय समाजसेवी गणेश बहादुर थापाको अध्यक्षतामा नयाँ समिति सर्वसम्मत रूपमा चयन भएको हो।
नवनियुक्त अध्यक्ष गणेश बहादुर थापाले पदभार ग्रहण गर्दै मन्दिरको ऐतिहासिक गरिमालाई जोगाउँदै यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप प्रवद्र्धन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।
ऐतिहासिक र धार्मिक महत्त्व बोकेको यस मन्दिरको संरक्षण, नियमित पूजा व्यवस्थापन तथा बढ्दो भक्तजनको चापलाई मध्यनजर गर्दै मन्दिरको चौतर्फी विकासका लागि नयाँ नेतृत्व चयन गरिएको हो।
नवनियुक्त समितिले मन्दिर परिसरको भौतिक पूर्वाधार सुधार, भेटी तथा दान दक्षिणको पारदर्शिता, र धार्मिक पर्यटन प्रवद्र्धनका लागि विशेष दीर्घकालीन योजनाहरू अघि सार्ने प्रतिवद्धता जनाएको छ।
दुई पहाडको बीचको खोँचमा अवस्थित यो मन्दिरमा नेपाल र भारतका विभिन्न स्थानबाट दैनिक हजारौँ दर्शनार्थी आउने गरेको सन्दर्भमा, नयाँ समितिले सुशासन र भक्तजनको सहजतालाई प्राथमिकता दिने विश्वास स्थानियको छ ।
साथै, मन्दिरको आम्दानीलाई स्थानीय शिक्षा, स्वास्थ्य र सामाजिक विकासमा परिचालन गर्ने परम्परालाई अझै व्यवस्थित बनाउँदै सुपादेउरालीलाई अन्तर्राष्ट्रिय स्तरको धार्मिक केन्द्र बनाउने लक्ष्य समितिले राखेको छ।

तपाइँको प्रतिक्रीया