सिड्नी । अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा सञ्चालित एक नेपाली रेष्टुरेन्ट खाद्य सुरक्षासम्बन्धी गम्भीर लापरवाहीका कारण अदालतबाट दोषी ठहर भएको छ। अदालतले रेष्टुरेन्ट सञ्चालक कम्पनी र सञ्चालकलाई संयुक्त रूपमा ३७ हजार ५ सय अष्ट्रेलियन डलर जरिवाना गरेको हो।
न्यू साउथ वेल्स फुड अथोरिटीका अनुसार क्याम्प्सी (Campsie) क्षेत्रमा रहेको “खुकुरी नेपाली रेष्टुरेन्ट” सञ्चालन गर्ने YDR Hospitality Group Pty Ltd तथा यसको सञ्चालक ज्वालन्त खतिवडाविरुद्ध न्यू साउथ वेल्स फुड एक्ट २००३ अन्तर्गत १२ वटा अभियोगमा वरुण लोकल कोर्टले २१ अप्रिल २०२६ मा फैसला सुनाएको हो। रेष्टुरेन्टमाथि असुरक्षित खाना बिक्री गरेको, सरसफाइमा गम्भीर लापरवाही गरेको, मुसा तथा किराको नियन्त्रण गर्न नसकेको, तथा स्वास्थ्य मापदण्ड उल्लंघन गरेको आरोप लागेको थियो।

यो विषय सन् २०२३ मा केही ग्राहकले उक्त रेष्टुरेन्टमा खाना खाएपछि बिरामी परेको गुनासो गरेपछि बाहिर आएको थियो। त्यसपछि न्यू साउथ वेल्सको NSW Department of Primary Industries and Regional Development (DPIRD) कृषि तथा क्षेत्रीय विकास विभागका निरीक्षण अधिकृतहरूले रेष्टुरेन्टमा अनुगमन गरेका थिए।
अनुगमनका क्रममा भान्सा तथा भण्डारण कक्ष अत्यन्त फोहोर अवस्थामा रहेको, भुइँ, भाँडा तथा खाना बनाउने सतहहरू सफा नराखिएको, मुसाको दिसा भेटिएको, खुला रूपमा खाना राखिएको तथा पर्याप्त रूपमा कीटाणुनाशक प्रयोग नगरिएको पाइएको थियो।अधिकारीहरूले रेष्टुरेन्टबाट खाना र भान्साका विभिन्न स्थानका नमूना संकलन गरी परीक्षण गरेका थिए। परीक्षणका क्रममा धेरै नमूनामा साल्मोनेला रिडिङ “Salmonella Reading” नामक खतरनाक जीवाणु भेटिएको थियो।
पछि गरिएको जीन परीक्षणले ती नमूनाहरू न्यू साउथ वेल्स हेल्थले अनुसन्धान गरिरहेको साल्मोनेला संक्रमण समूहसँग मेल खाएको पुष्टि गरेको थियो। त्यसपछि स्वास्थ्य निकायको सिफारिसमा सम्बन्धित विभागले रेष्टुरेन्टलाई तत्काल व्यापार बन्द गर्न निर्देशन दिएको थियो।यद्यपि त्यसपछि रेष्टुरेन्टले सरसफाइ तथा खाद्य सुरक्षा मापदण्डहरू पूरा गरेपछि पुनः सञ्चालन अनुमति पाएको थियो। तर घटनाको अनुसन्धान, परीक्षण तथा कानुनी प्रक्रियापछि करिब तीन वर्षपछि बर्वुड लोकल कोर्टले २१ अप्रिल २०२६ मा यस्तो फैसला सुनाएको हो।
न्यू साउथ वेल्स फुड अथोरिटीका प्रमुख Andrew Davies ले अधिकांश खाद्य व्यवसायहरूले नियम पालना गरे पनि जनस्वास्थ्यमा जोखिम उत्पन्न गर्ने व्यवसायमाथि कडा कारबाही गरिने बताएका छन्। उनले उपभोक्ताले आफूले खाने खाना सुरक्षित, स्वच्छ र स्वास्थ्य मापदण्डअनुसार तयार गरिएको हो भन्ने विश्वास गर्न पाउनुपर्ने बताएका छन्।
अष्ट्रेलियामा खाद्य सुरक्षासम्बन्धी नियम अत्यन्त कडा मानिन्छन्। स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने व्यवसायहरूको विवरण सम्बन्धित निकायले सार्वजनिक रूपमा प्रकाशन गर्ने व्यवस्था समेत रहेको छ।यस घटनापछि विशेषगरी नेपाली समुदायभित्र रेष्टुरेन्ट व्यवसायमा सरसफाइ, खाद्य सुरक्षा र व्यवसायिक जिम्मेवारीका विषयमा व्यापक चासो र चर्चा सुरु भएको छ।

तपाइँको प्रतिक्रीया