सिड्नी, अष्ट्रेलिया । नेपाल सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा गैरआवासीय नेपाली (एनआरएन) र विदेशमा रहेका नेपालीलाई विशेष प्राथमिकता दिएकामा गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले स्वागत गरेको छ। संघले यसलाई विश्वभर रहेका नेपालीहरूको क्षमता, पूँजी, सीप र अनुभवलाई नेपालको विकाससँग जोड्ने सकारात्मक कदमको रूपमा व्याख्या गरेको छ।

एनआरएनए अष्ट्रेलियाले मंगलबार जारी गरेको विज्ञप्तिमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली डायस्पोराको पूँजी, सीप, अनुभव र प्रविधिलाई नेपालको विकासमा परिचालन गर्ने प्रतिबद्धता व्यक्त गरेकोप्रति खुसी व्यक्त गरिएको छ। विशेषगरी धितोपत्र बजार सुधार, नेप्से (NEPSE) पुनर्संरचना, बिमा, पेन्सन कोष, म्युचुअल फण्ड तथा गैरआवासीय नेपालीहरूको लगानी सहभागिता विस्तार गर्ने प्रस्तावलाई संघले स्वागतयोग्य भनेको छ।
संघका प्रवक्ता अशोक बस्नेतका अनुसार सरकारले अघि सारेको ‘डायस्पोरा एक्सपर्ट नेटवर्क’ र ‘नलेज बैंक’ जस्ता अवधारणाले विदेशमा रहेका नेपाली विज्ञहरूको ज्ञान, अनुभव र दक्षतालाई नेपालसँग जोड्न मद्दत पुग्ने विश्वास गरिएको छ। त्यस्तै, गैरआवासीय नेपालीहरूको लगानीलाई कानुनी संरक्षण, नाफा फिर्ता लैजान सहज व्यवस्था तथा सरल वित्तीय पहुँचले विश्वभर रहेका नेपालीमा नयाँ आशा र उत्साह थपेको संघको भनाइ छ।
यद्यपि, एनआरएनए अष्ट्रेलियाले विगतमा पनि यस्ता धेरै प्रतिबद्धता सार्वजनिक भए पनि प्रभावकारी कार्यान्वयन अभावमा अपेक्षित परिणाम आउन नसकेको स्मरण गराएको छ। “अब नीति र भाषण मात्र होइन, व्यवहारमा देखिने ठोस कार्यान्वयन आवश्यक छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।
संघले नेपालको समृद्धिका लागि लगानी, ज्ञान हस्तान्तरण र सहकार्यमार्फत पूर्ण सहयोग गर्न आफूहरू तयार रहेको जनाएको छ। साथै प्रशासनिक झन्झटमुक्त, पारदर्शी कानुनी संरचना र बलियो संस्थागत संयन्त्र निर्माण गर्न सरकारसँग आग्रह गरेको छ, जसले डायस्पोराको सहभागिता अझ प्रभावकारी बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरिएको छ।
“नेपाल बाहिर जहाँ रहे पनि हरेक नेपालीले राष्ट्रको समृद्धिमा योगदान दिन र त्यसको प्रतिफल पाउन सक्ने वातावरण निर्माण होस् भन्ने हाम्रो चाहना हो,” विज्ञप्तिमा उल्लेख छ।

तपाइँको प्रतिक्रीया