२०८३ जेठ २१ बिहीबार

तास्मानियामा नेपाली राहदानी नवीकरणका लागि घुम्ती सेवा सञ्चालन हुँदै

  • admin २०८३ जेठ १ शुक्रबार

होबार्ट /  अष्ट्रेलियाको तास्मानियामा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गर्दै नेपाली दूतावास क्यानबेरा र गैरआवासीय नेपाली संघ (एनआरएनए) तास्मानिया स्टेट कोअर्डिनेसन काउन्सिल (एससीसी) को समन्वयमा राहदानी नवीकरणसम्बन्धी ‘घुम्ती सेवा’ सञ्चालन गरिने भएको छ।

एनआरएनए तास्मानियाले सार्वजनिक गरेको सूचनाअनुसार सेवा लाउन्सेस्टनमा मे २६ र २७ तथा होबार्टमा मे २८, २९ र ३० तारिखमा सञ्चालन हुनेछ। कार्यक्रम स्थल भने केही दिनमै सार्वजनिक गरिने जनाइएको छ।घुम्ती सेवाका लागि समुदायबाट अपेक्षाभन्दा अत्यधिक रुचि देखिएको आयोजकले जनाएको छ। ‘एक्सप्रेसन अफ इन्टेरेस्ट (EOI)’ मार्फत ठूलो संख्यामा आवेदन प्राप्त भएपछि सीमित अपोइन्टमेन्ट क्षमताका कारण आगामी ६ महिनाभित्र राहदानी म्याद सकिन लागेका सेवाग्राहीलाई प्राथमिकतामा राखिने भएको हो।

एनआरएनए तास्मानियाका संयोजक सुजन वाग्लेले तास्मानियामा नेपाली समुदाय तीव्र रूपमा विस्तार भइरहेको अवस्थामा यस्ता कन्सुलर सेवाले समुदायलाई ठूलो राहत पुग्ने बताए। उनले क्यानबेरा पुग्नुपर्ने बाध्यता हट्दै स्थानीय स्तरमै सेवा उपलब्ध हुनु सकारात्मक र आवश्यक पहल भएको उल्लेख गरे।

“तास्मानियामा अध्ययन, रोजगारी र बसोबासका लागि आउने नेपालीहरूको संख्या हरेक वर्ष बढिरहेको छ। राहदानी नवीकरणका लागि धेरैलाई लामो दूरी तय गरेर क्यानबेरा जानुपर्ने अवस्था थियो। यही समस्यालाई मध्यनजर गर्दै दूतावाससँग समन्वय गरेर यो घुम्ती सेवा सञ्चालन गर्न लागिएको हो,” वाग्लेले भने। उनले समुदायबाट प्राप्त साथ, विश्वास र उत्साहजनक सहभागिताप्रति आभार व्यक्त गर्दै सीमित समय र स्रोतका बाबजुद सकेसम्म धेरै सेवाग्राहीलाई समेट्ने प्रयास भइरहेको बताए। थप स्थान उपलब्ध भएमा एनआरएनए तास्मानियाको आधिकारिक फेसबुक पेजमार्फत जानकारी गराइने पनि उनले स्पष्ट पारे।

पछिल्ला वर्षहरूमा अष्ट्रेलियाका विभिन्न राज्यमा नेपाली समुदाय विस्तार भएसँगै राहदानी, बायोमेट्रिक तथा अन्य कन्सुलर सेवाको पहुँच सहज बनाउन नेपाली दूतावासले विभिन्न राज्य संयन्त्रहरूसँग सहकार्य गर्दै घुम्ती सेवा सञ्चालन गर्दै आएको छ। तास्मानियामा हुन लागेको यो कार्यक्रमलाई पनि समुदायमै सेवा पुर्‍याउने महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ।

कार्यक्रमसँग सम्बन्धित कागजात बुझाउने प्रक्रिया, अपोइन्टमेन्ट पुष्टि तथा अन्य प्रशासनिक विवरणहरू चाँडै सार्वजनिक गरिने आयोजकले जनाएको छ।

थप जानकारीका लागि: सुजन वाग्ले – 0434 164 304 ,बिष्णु थपलिया – 0420 345 649