एडिलेड । विदेशमा जन्मिएका वा हुर्किएका नेपाली मूलका बालबालिकालाई नेपाली भाषा, संस्कृति र पहिचानसँग जोड्दै आएको नेपाली पाठशाला एडिलेडले यस वर्ष साउथ अष्ट्रेलियाबाट कक्षा १२ उत्तीर्ण गरेका १७ जना नेपाली मूलका विद्यार्थीलाई विशेष सम्मान गरेको छ ।
विद्यार्थीहरूको मेहनत, लगनशीलता र शैक्षिक उपलब्धिलाई कदर गर्दै आयोजना गरिएको कार्यक्रममा विद्यार्थीहरूलाई सम्मानपत्र तथा ट्रफी प्रदान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरू आफ्ना अभिभावकसँग सहभागी भएका थिए भने नेपाली समुदायका अगुवा, शिक्षक, अभिभावक तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

सन् २००८ मा स्थापना भएको नेपाली पाठशालाले विगत लामो समयदेखि अष्ट्रेलियामा हुर्किरहेका नेपाली मूलका बालबालिकालाई नेपाली भाषा अध्यापन गराउँदै आएको छ । विशेषगरी नेपाली भाषा, संस्कृति, परम्परा र समुदायसँग नयाँ पुस्तालाई जोडिराख्ने उद्देश्यले सञ्चालन हुँदै आएको पाठशालाले विगत आठ वर्षदेखि कक्षा १२ उत्तीर्ण नेपाली विद्यार्थीहरूको सम्मान कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ ।
कार्यक्रमकी प्रमुख अतिथि साउथ अष्ट्रेलिया सरकारको बहुसास्कृतिक मन्त्री नादिया क्लेन्सीले सम्मानित विद्यार्थीहरूलाई बधाई दिँदै अष्ट्रेलियाजस्तो बहुसांस्कृतिक देशमा आफ्नो मातृभाषा र संस्कृतिलाई जोगाइराख्नु अत्यन्त महत्वपूर्ण रहेको बताइन् । उनले नेपाली समुदायले आफ्ना सन्ततिलाई नेपाली भाषा सिकाउन देखाएको चासो प्रशंसनीय रहेको उल्लेख गर्दै शिक्षा, भाषा र संस्कृतिको संयोजनले नै समुदायलाई बलियो बनाउने धारणा व्यक्त गरिन् । क्लेन्सीले अष्ट्रेलियाको विकास र समृद्धिमा विभिन्न समुदायका युवाहरूको ठूलो भूमिका रहेको उल्लेख गर्दै सम्मानित विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना पनि दिइन् ।
कार्यक्रममा साउथ अष्ट्रेलिया सरकारको बहुसास्कृतिक आयोग सदस्य मञ्जु खड्काले नेपाली पाठशालाले भाषा शिक्षामार्फत समुदायलाई एकताबद्ध बनाउने कार्य गरिरहेको बताइन् । आइरिन इभान्जेलिस्टा लगायतका वक्ताहरूले पनि नेपाली पाठशालाले नेपाली भाषा र संस्कृतिको संरक्षणमा खेलेको भूमिकाको खुलेर प्रशंसा गरेका थिए ।
पाठशालाका अध्यक्ष देबेन्द्र खरेल को सभापतित्वमा सम्पन्न कार्यक्रममा प्राचार्य चन्द्रमणि पाण्डे ले विद्यालयका वार्षिक गतिविधि, विद्यार्थी सहभागिता तथा भाषा शिक्षाको महत्वबारे जानकारी गराएका थिए । त्यसैगरी खेलकुद संयोजक प्रसन्नमान सिंह ले पाठशालाले भाषा शिक्षासँगै खेलकुद र अतिरिक्त गतिविधिलाई पनि प्राथमिकतामा राख्दै आएको जानकारी दिएका थिए ।
यस वर्ष सम्मानित हुने विद्यार्थीहरूमा स्मारिका अधिकारी, परिशा गौतम, आयुष खरेल, त्रिजन गुरुङ, दृष्टि योगी, रेहान गुरुङ, सक्षमबहादुर पौडेल, मिङ्मा दिर्जे लामा, इभान शर्मा, ऐश्वर्या मल्ल, प्रकृति पाठक, श्रेया भट्टराई, हारुन गुरुङ, गोशिका घिमिरे, ओजस्वी घिसिङ, दिया श्रेष्ठ र डेयोन बाओश रहेका थिए ।
सम्मान ग्रहणपछि विद्यार्थीहरूले आफूहरूलाई नेपाली भाषा सिकाउने शिक्षक-शिक्षिका, निरन्तर प्रेरणा दिने अभिभावक तथा पाठशाला परिवारप्रति आभार व्यक्त गरेका थिए । उनीहरूले विदेशमा बसेर पनि नेपाली भाषा सिक्ने अवसर पाउनु आफ्नो पहिचानसँग जोडिने महत्वपूर्ण माध्यम बनेको बताएका थिए ।
कार्यक्रममा बालबालिका तथा शिक्षक-शिक्षिकाहरूले नेपाली सांस्कृतिक झल्को दिने नृत्य तथा सांस्कृतिक प्रस्तुति दिएका थिए । कार्यक्रममा उत्साह, भावुकता र गौरवको मिश्रित वातावरण देखिन्थ्यो ।
कार्यक्रम पूर्व अध्यक्ष कपिल पाण्डे, अन्वेशा लम्साल र आभाष कडेल ले संयुक्त रूपमा सञ्चालन गरेका थिए । विदेशमा बसेर पनि नयाँ पुस्तालाई नेपाली भाषा, संस्कार र पहिचानसँग जोड्ने अभियानमा नेपाली पाठशालाले निरन्तर खेलेको भूमिका समुदायका लागि प्रेरणादायी बन्दै गएको सहभागीहरूले बताएका थिए ।


तपाइँको प्रतिक्रीया