२०८३ जेठ २१ बिहीबार

एडिलेडमा टेबल टेनिसको रोमाञ्चक प्रतिस्पर्धा,अनिश गुरुङ र विद्या मिश्र बने विजेता

  • admin २०८३ जेठ ५ मङ्गलबार

एडिलेड । एडिलेडमा सम्पन्न युथ फोरम एनआरएनए साउथ अष्ट्रेलियाद्वारा आयोजित टेबल टेनिस प्रतियोगितामा खुल्लातर्फ अनिश गुरुङ र महिलातर्फ विद्या मिश्र विजेता बन्न सफल भएका छन् । नेपाली समुदायका युवाहरूलाई खेलकुदमार्फत एकताबद्ध गर्ने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगिताले एडिलेडस्थित नेपाली समुदायमा उत्साह थपेको आयोजकले जनाएको छ ।

एडिलेडको उडभिल डिस्ट्रिक्ट टेबल टेनिस क्लबको हलमा सम्पन्न प्रतियोगिताको खुल्लातर्फको फाइनल अत्यन्त प्रतिस्पर्धात्मक बनेको थियो । पाँच सेटसम्म चलेको रोमाञ्चक प्रतिस्पर्धामा अनिश गुरुङले आयुष गिरीलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन् । खुल्लातर्फ चिडा चौहान तेस्रो स्थान हासिल गर्न सफल भए । यस समूहमा करिब ५० जना खेलाडीहरूको सहभागिता रहेको थियो । प्रतियोगिताको प्रारम्भिक चरण लिग प्रणालीमा सञ्चालन गरिएको थियो, जसले प्रतिस्पर्धालाई अझ रोचक बनाएको सहभागीहरूले बताएका छन् ।

त्यसैगरी महिलातर्फको प्रतिस्पर्धामा विद्या मिश्रले उषा श्रेष्ठलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भइन् । निकै प्रतिस्पर्धात्मक बनेको महिलातर्फको फाइनल खेलमा दुवै खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए । यसतर्फ प्रकृति श्रेष्ठले तेस्रो स्थान हासिल गरिन् । महिलातर्फको प्रतियोगितामा ६ जना खेलाडीहरूको सहभागिता रहेको थियो ।

प्रतियोगितामा विजेता खेलाडीहरूलाई नगद पुरस्कारसहित कप र मेडल प्रदान गरिएको थियो । खुल्ला तथा महिलातर्फका प्रथम हुने खेलाडीलाई ५००–५०० अष्ट्रेलियन डलर, द्वितीय हुनेलाई २००–२०० डलर तथा तृतीय हुनेलाई १००–१०० डलर नगदसहित कप र मेडल प्रदान गरिएको आयोजकले जनाएको छ । मुख्य प्रायोजकका रूपमा Doko Tours रहेको उक्त कार्यक्रममा अन्य नेपाली व्यवसायीहरूले पनि विभिन्न रूपमा सहयोग गर्दै कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

खेल सम्पन्न भएपछि आयोजित समापन समारोहमा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का सचिव सुजन अधिकारी प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने  ओशियाना संयोजक रमेश जोशी विशेष अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा खेलाडीहरूको तर्फबाट नबिन कडेलले मन्तव्य राख्दै प्रतियोगिताले नेपाली समुदायमा खेल संस्कृतिको विकासमा सकारात्मक योगदान पुर्‍याएको बताए ।

समारोहमा एनआरएनए साउथ अष्ट्रेलियाका संयोजक थीर गुरुङले सहभागी, खेलाडी तथा सहयोगी सबैप्रति धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको अध्यक्षता युथ फोरम संयोजक संगम पाण्डेले गरेका थिए भने सञ्चालन एनआरएनए साउथ अष्ट्रेलियाका सचिव युवराज पहाडीले गरेका थिए ।

प्रतियोगितामा एडिलेडस्थित नेपाली समुदायका सामाजिक अगुवा, खेलप्रेमी तथा युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । आयोजकका अनुसार आगामी दिनमा यस्ता खेलकुद गतिविधिलाई अझ व्यापक बनाउँदै नेपाली समुदायबीच आपसी सद्भाव, स्वास्थ्य सचेतना र सामाजिक एकतालाई थप मजबुत बनाइने कार्यक्रममा जानकारी गराइएको थियो।