अष्ट्रेलिया / अष्ट्रेलियामा बसोबास गरिरहेका नेपाली समुदायका लागि गर्वको विषय बनेको छ। नेपालबाट आफ्नो पाककला यात्रा सुरु गरी हाल दक्षिण अष्ट्रेलियामा कार्यरत प्रतिभाशाली नेपाली शेफ आद्य (आधार थापालिया) प्रतिष्ठित Australian Pizza Championships 2026 को फाइनल चरणमा प्रवेश गर्न सफल भएका छन्।

देशभरबाट सहभागी २५० भन्दा बढी प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनले फाइनलिस्टको रूपमा स्थान सुरक्षित गरेका हुन्। यो उपलब्धिले केवल व्यक्तिगत सफलता मात्र नभई अष्ट्रेलियामा रहेका सम्पूर्ण नेपाली समुदायलाई गौरवान्वित बनाएको छ।
हाल दक्षिण अष्ट्रेलियास्थित Bentleys Hotel मा शेफका रूपमा कार्यरत शेफ आद्य आफ्नो मेहनत, लगनशीलता र पाककलाप्रतिको समर्पणका कारण अष्ट्रेलियाका चर्चित इटालियन पिज्जा मेकर तथा व्यावसायिक शेफहरूसँग एउटै मञ्चमा प्रतिस्पर्धा गर्ने अवसरसम्म पुग्न सफल भएका हुन्।
प्रतिष्ठित Australian Pizza Championships 2026 आगामी मे २५ मा International Convention Centre Sydney मा आयोजना हुँदैछ। उक्त प्रतियोगितामा शेफ आद्यले आफ्नो सिर्जनशीलता, स्वाद र पाककलाको विशेष प्रस्तुति राष्ट्रिय स्तरमा प्रदर्शन गर्नेछन्।
विदेशी भूमिमा संघर्ष गर्दै आफ्नो पहिचान स्थापित गर्न प्रयासरत नेपाली युवाहरूका लागि शेफ आद्यको यात्रा प्रेरणादायी उदाहरण बनेको छ। निरन्तर मेहनत, आत्मविश्वास र समर्पणले अन्तर्राष्ट्रिय स्तरसम्म पुग्न सकिन्छ भन्ने सन्देश उनले दिएका छन्।
नेपाली समुदायका धेरै सदस्यहरूले सामाजिक सञ्जालमार्फत उनलाई बधाई तथा शुभकामना व्यक्त गरिरहेका छन्। धेरैले यसलाई नेपाली प्रतिभाको अन्तर्राष्ट्रिय पहिचानसँग जोडिएको महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्।सम्पूर्ण नेपाली समुदायले शेफ आद्यलाई हार्दिक बधाई दिँदै प्रतियोगितामा उत्कृष्ट प्रदर्शनसहित सफलता हासिल गर्न शुभकामना व्यक्त गरेको छ। नेपाली स्वाद, सिर्जनशीलता र मेहनतलाई अन्तर्राष्ट्रिय मञ्चमा अझ उचाइमा पुर्याउन उनी सफल हुने विश्वास समुदायले व्यक्त गरेको छ।

तपाइँको प्रतिक्रीया