२०८३ जेठ २१ बिहीबार

अष्ट्रेलियाकी १८ वर्षीया किशोरीले सगरमाथामा रचिन् इतिहास, बनिन् सबैभन्दा कान्छी अष्ट्रेलियन आरोही

  • admin २०८३ जेठ ७ बिहीबार

अष्ट्रेलिया/ अष्ट्रेलियाको मेलबर्नस्थित ब्राइटन क्षेत्रकी १८ वर्षीया विद्यार्थी बियान्का एडलरले विश्वकै सर्वोच्च शिखर सगरमाथा (माउन्ट एभरेष्ट) आरोहण गर्दै नयाँ इतिहास रचेकी छन् । उनी सगरमाथाको सफल आरोहण गर्ने सबैभन्दा कान्छी अष्ट्रेलियन बनेकी हुन् ।

बुधबार बिहान नेपाली समयअनुसार सगरमाथाको ८,८४९ मिटर उचाइमा पुगेकी बियान्काले अत्यन्त चिसो र हावाहुरीबीच सफलतापूर्वक आरोहण सम्पन्न गरेकी हुन् । आरोहणपछि उनले रेडियोमार्फत आफ्ना बाबुसँग कुरा गर्दै आफू शारीरिक रूपमा ठीक रहेको बताएकी थिइन् । उनकी आमा फियोना एडलरले सामाजिक सञ्जाल तथा ब्लगमार्फत छोरीले भीड र जोखिमबाट बच्न अँध्यारोमै शिखर पुगेको जानकारी दिएकी छन् ।

बियान्काले यसअघि पनि हिमाल आरोहणमा उल्लेखनीय सफलता हासिल गरिसकेकी छन् । सन् २०२४ मा उनले १६ वर्षको उमेरमै माउन्ट मानस्लु (८,१६३ मिटर) र आमा डब्लम (६,८१२ मिटर) सफलतापूर्वक आरोहण गरेकी थिइन् ।

गत वर्ष उनले पहिलोपटक सगरमाथा आरोहणको प्रयास गरेकी थिइन् । तर खराब मौसम र तीव्र हावाहुरीका कारण शिखरभन्दा करिब ४ सय मिटर तलबाट फर्किन बाध्य भएकी थिइन् । त्यसबेला उनले “जीवनलाई प्राथमिकता दिएको” बताएकी थिइन् ।

बियान्काको परिवार पर्वतारोहणमा अनुभवी मानिन्छ । उनका बाबु पॉल एडलर र आमा फियोना एडलर दुवैले यसअघि सगरमाथा आरोहण गरिसकेका छन् । बियान्काले फ्रेन्च आल्प्स क्षेत्रमा हुर्कंदै हिमालप्रतिको मोह विकास गरेको बताइएको छ ।

यस उपलब्धिसँगै उनले सन् २०२२ मा १९ वर्षको उमेरमा सगरमाथा चढेकी अष्ट्रेलियन आरोही ग्याबी कानिजेको रेकर्ड पनि तोडेकी छन् ।