२०८३ जेठ २१ बिहीबार

एडिलेडमा “अन्तर्राष्ट्रिय सगरमाथा दिवस” विविध कार्यक्रमसहित मनाइने

  • admin २०८३ जेठ ८ शुक्रबार

एडिलेड । नेपालको गौरव तथा विश्वकै सर्वोच्च शिखर सगरमाथाको ऐतिहासिक आरोहण दिवसको अवसरमा दक्षिण अष्ट्रेलियाको एडिलेडमा “अन्तर्राष्ट्रिय सगरमाथा दिवस २०२६” विविध कार्यक्रमसहित मनाइने भएको छ । नेपाली समुदायिक संस्थाहरूको साझा संगठन फेडरेशन अफ नेप्लिज कम्युनिटी एशोसियसन अफ अष्ट्रेलिया (FeNCAA) साउथ अष्ट्रेलियाको आयोजनामा आगामी मे ३० तारिख शनिबार विशेष पदयात्रा तथा सचेतनामूलक कार्यक्रम आयोजना गरिने भएको हो ।

कार्यक्रम मोरियाल्टा कन्जरभेसन पार्कस्थित मुकन्थी नेचर प्ले स्पेसबाट बिहान ८ः३० बजे सुरु हुनेछ । पदयात्रापछि औपचारिक समापन कार्यक्रम समेत आयोजना गरिने आयोजकले जनाएको छ ।

फेन्का साउथ अष्ट्रेलियाका संयोजक पुष्कर कोइरालाका अनुसार, सगरमाथा दिवस केवल नेपालको गौरवको उत्सव मात्र नभई जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको असरबारे विश्व समुदायलाई सचेत गराउने अवसर पनि हो । उनले पछिल्लो समय हिमालहरूमा बढ्दो तापक्रम, हिउँ पग्लिने समस्या तथा वातावरणीय संकटप्रति ध्यानाकर्षण गराउन यस वर्षको कार्यक्रम विशेष रूपमा केन्द्रित गरिएको बताए ।

यस वर्षको अन्तर्राष्ट्रिय सगरमाथा दिवसको मूल नारा “पग्लिरहेको हिउँ, बढ्दो जिम्मेवारी” रहेको छ । साथै “सगरमाथासहित हिमालयको संरक्षण गरौं” भन्ने सन्देशसहित कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ मा पहिलो पटक सगरमाथाको सफल आरोहण गरेको ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रूपमा मनाइन्छ । पछिल्ला वर्षहरूमा यो दिवस हिमालय संरक्षण, जलवायु परिवर्तन र प्राकृतिक सम्पदाको महत्वबारे जनचेतना फैलाउने अभियानका रूपमा समेत विकसित हुँदै गएको छ ।

फेन्काले दक्षिण अष्ट्रेलियासहित अष्ट्रेलियाका विभिन्न राज्यहरूमा पनि अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गर्दैछ । एडिलेडमा हुने कार्यक्रममा विभिन्न नेपाली सामाजिक, सांस्कृतिक तथा खेलकुद संस्थाहरूको समेत सहकार्य रहने जनाइएको छ ।

संयोजक कोइरालाले नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई वातावरण संरक्षण, हिमालयको महत्व तथा भावी पुस्ताप्रतिको जिम्मेवारीबारे सकारात्मक सन्देश फैलाउन आग्रह गरेका छन् ।