एडिलेड, अष्ट्रेलिया। दक्षिण अष्ट्रेलियाको नेपाली समुदायलाई सांगीतिक तथा सांस्कृतिक माहोलमा जोड्ने उद्देश्यसहित आगामी जुन ५ मा एडिलेडमा विशेष कार्यक्रम “एडिलेड सांगीतिक साँझ” आयोजना हुने भएको छ। नेपाली कला, संगीत र सामुदायिक एकतालाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ आयोजना हुन लागेको उक्त कार्यक्रम प्लिम्पटन पार्कस्थित Everest Event Centre मा सम्पन्न हुनेछ।
कार्यक्रममा नेपाली लोक तथा आधुनिक संगीतका लोकप्रिय कलाकार विष्णु खत्री र चर्चित गायक थानेश्वर गौतम ले विशेष प्रस्तुति दिने भएका छन्। दुवै कलाकारको प्रस्तुति रहने खबरसँगै एडिलेडस्थित नेपाली समुदायमा कार्यक्रमप्रति उत्साह थपिएको आयोजकले जनाएको छ। कार्यक्रम साँझ ५:३० बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने जनाइएको छ। आयोजकका अनुसार कार्यक्रममा नेपाली गीत–संगीत, मनोरञ्जन तथा सामुदायिक भेटघाटलाई प्राथमिकता दिइनेछ।

कार्यक्रममा सहभागी हुन दर्शकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। एडिलेड र आसपासका क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई परिवारसहित उपस्थित भई नेपाली कला, संस्कृति र संगीतको आनन्द लिन आयोजकले आग्रह गरेको छ।
कार्यक्रमको मुख्य प्रायोजन BNB Home Loan ले गरेको छ भने विभिन्न नेपाली व्यवसायी तथा सामाजिक संस्थाहरूको समेत सहकार्य रहने बताइएको छ। कार्यक्रम “Everest Adelaide” र “Nirvana Plus” को संयुक्त आयोजनामा हुन लागेको हो।
“Nirvana Plus” का निर्देशक सुपक अधिकारी ले विदेशमा रहेर पनि नेपाली भाषा, कला र संस्कृतिलाई जीवित राख्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले एडिलेडमा नेपाली समुदायबीच आपसी सद्भाव, मनोरञ्जन र सांस्कृतिक एकतालाई मजबुत बनाउन कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे।
उनले भने, “हामीले केवल सांगीतिक कार्यक्रम मात्र आयोजना गर्न खोजेका होइनौं, विदेशमा रहेका नेपालीलाई आफ्नोपनको अनुभूति दिलाउने एउटा साझा सांस्कृतिक वातावरण निर्माण गर्न खोजिरहेका छौं। यस्ता कार्यक्रमले नयाँ पुस्तालाई पनि नेपाली कला र संस्कृतिसँग जोड्ने काम गर्छ।”
आयोजक टोलीले कार्यक्रमलाई सभ्य, पारिवारिक र मनोरञ्जनात्मक बनाउँदै नेपाली समुदायका लागि स्मरणीय साँझ बनाउने तयारी भइरहेको जानकारी दिएको छ।


तपाइँको प्रतिक्रीया