२०८३ असार १ सोमबार

साउदर्न नाइट्सको सम्मान साँझ : उत्कृष्ट खेलाडीदेखि समर्थकसम्म पुरस्कृत(फोटो फिचर)

  • admin २०८३ जेठ ३० शनिवार
Screenshot

एडिलेड । क्रिकेट केवल ब्याट र बलको प्रतिस्पर्धा मात्र होइन, समर्पण, सहकार्य र समुदायको साझा यात्राको कथा पनि हो। यही भावनालाई आत्मसात् गर्दै दक्षिण अष्ट्रेलियाको प्रतिष्ठित एनका सुपर लिग २०२५/२६ को उपाधि विजेता साउदर्न नाइट्स क्रिकेट क्लब, एडिलेडले आफ्ना खेलाडी तथा क्लबलाई विभिन्न रूपमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गरेको छ।

 

सिजनभरको सफल यात्रालाई उत्सवका रूपमा मनाउन आयोजित विशेष सम्मान साँझमा क्लबले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधामा पुरस्कृत गर्दै उनीहरूको योगदानको कदर गरेको हो।

यस वर्षको ‘प्लेयर अफ द इयर’ को उपाधि क्लबका कप्तान गोविन्द कार्कीले जितेका छन्। सिजनभर उत्कृष्ट नेतृत्व र प्रभावशाली प्रदर्शन गरेका कार्कीलाई ट्रफीसहित अष्ट्रेलियन डलर ५०० प्रदान गरिएको थियो।

त्यस्तै, विभिन्न विधामा उत्कृष्ट ठहरिएका खेलाडीहरूलाई पनि सम्मान गरिएको छ। बेस्ट फिल्डर को अवार्ड संगम गौतम, बेस्ट ब्याट्सम्यान को सम्मान गोविन्द कार्की, बेस्ट अलराउन्डर को उपाधि अंकित श्रेष्ठ, तथा बेस्ट बलर को अवार्ड जीवन्त सापकोटाले प्राप्त गरे।

यसैगरी, आफ्नो जोशपूर्ण प्रदर्शनबाट दर्शक र टोलीलाई उत्साहित बनाएका निराजन पाण्डे ले ‘इलेक्ट्रिफाइङ पर्फर्मेन्स अफ द इयर’ अवार्ड हात पारे भने पहिलो सिजनमै प्रभाव छाड्न सफल मिलन महर्जन लाई ‘डेब्यु सिजन स्टार अवार्ड’ प्रदान गरिएको थियो।

कार्यक्रमको अर्को विशेष आकर्षण मैदान बाहिरबाट खेलाडी र क्लबलाई निरन्तर हौसला प्रदान गर्ने व्यक्तिको सम्मान रह्यो। क्लबले सचिन बस्नेत लाई यस वर्षको ‘सपोर्टर अफ द इयर’ अवार्डद्वारा सम्मान गर्दै खेलको सफलतामा समर्थकहरूको भूमिकालाई पनि उच्च मूल्याङ्कन गरेको छ।

यस अवसरमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको यू–१७ र यू–१९ का पूर्व खेलाडी प्रेम चौधरी लाई समेत विशेष सम्मान गरिएको थियो। क्लबका अध्यक्ष विकास सुवेदी तथा क्लबका अग्रज धीरज ज्ञवालीले चौधरीलाई खादा तथा मायाको चिनोसहित सम्मान गरेका थिए। सो क्रममा ज्ञवालीले नेपाली क्रिकेटमा चौधरीले पुर्‍याएको योगदान र युवा खेलाडीका लागि उनको प्रेरणादायी यात्रामाथि प्रकाश पारेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै एडिलेड नेप्लिज क्रिकेट एसोसिएसन (एन्का) का अध्यक्ष विजय जोशी ले सम्मानित सबैलाई बधाई दिँदै साउदर्न नाइट्सले एनका लिगसहित विभिन्न प्रतियोगितामा प्रदर्शन गरेको उत्कृष्ट खेलप्रति प्रशंसा व्यक्त गरे। उनले यस्ता कार्यक्रमले खेलाडीहरूको मनोबल अझ उकास्ने विश्वास व्यक्त गरे।

जीवन्त सापकोटा को सञ्चालन रहेको कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष विकास सुवेदी ले गरेका थिए। समापन मन्तव्यका क्रममा अध्यक्ष सुवेदीले क्लबलाई सफलताको यो उचाइसम्म पुर्‍याउन योगदान दिने खेलाडी, प्रशिक्षक, प्रायोजक व्यवसायी, खेलाडीका परिवार, सञ्चारकर्मी तथा सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गरे।

जित्नु एउटा उपलब्धि हो, तर त्यो यात्रामा साथ दिने हरेक हातको सम्मान गर्नु अझ ठूलो संस्कार हो। साउदर्न नाइट्सको यो सम्मान साँझले क्रिकेट केवल खेल नभई समुदायलाई जोड्ने माध्यम पनि हो भन्ने सन्देश दिएको छ।

Screenshot
Screenshot