एडिलेड । नेपालको गौरव, पहिचान र विश्वकै सर्वोच्च शिखर सगरमाथाको ऐतिहासिक आरोहण दिवसको अवसरमा फेडरेशन अफ नेप्लिज कम्युनिटी एशोसियसन अफ अष्ट्रेलिया (FeNCAA) ले अष्ट्रेलियाका विभिन्न राज्य तथा क्षेत्रहरूमा “अन्तर्राष्ट्रिय सगरमाथा दिवस २०२६” भव्य रूपमा सम्पन्न गरेको छ। साउथ अष्ट्रेलियासहित विभिन्न राज्यमा आयोजित कार्यक्रमहरूमा नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।
सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलो पटक सफलतापूर्वक सगरमाथा आरोहण गरेको ऐतिहासिक दिनको सम्मानमा हरेक वर्ष मनाइने अन्तर्राष्ट्रिय सगरमाथा दिवसलाई यस वर्ष फेन्काले “पग्लिरहेको हिउँ, बढ्दो जिम्मेवारी” भन्ने मूल नारासहित मनाएको हो। कार्यक्रममार्फत सगरमाथा तथा हिमालय क्षेत्रको संरक्षण, जलवायु परिवर्तनका असर र वातावरणीय जिम्मेवारीबारे जनचेतना फैलाउने प्रयास गरिएको आयोजकले जनाएको छ।
साउथ अष्ट्रेलियाको एडिलेडस्थित मोरियाल्टा कन्जरभेसन पार्कमा आयोजित मुख्य कार्यक्रममा विशेष पदयात्रा, सचेतनामूलक प्रस्तुति, सामुदायिक भेटघाट तथा बालबालिकाहरूको चित्रकला प्रतियोगिता सम्पन्न भएको थियो। कार्यक्रममा नेपाली समुदायका विभिन्न सामाजिक, सांस्कृतिक तथा खेलकुद संस्थाहरूको समेत सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै फेन्का अष्ट्रेलियाका उपाध्यक्ष कपिल पाण्डेले अन्तर्राष्ट्रिय सगरमाथा दिवस नेपालको राष्ट्रिय गौरवसँग मात्र नभई सम्पूर्ण मानवजातिको प्रेरणा, साहस, धैर्यता र वातावरणीय चेतनासँग जोडिएको दिवस भएको बताए। उनले हिमालय क्षेत्रमा जलवायु परिवर्तनले पारिरहेको प्रभावप्रति विश्व समुदायको ध्यानाकर्षण गराउन पनि यस्ता कार्यक्रम महत्वपूर्ण हुने उल्लेख गरे। कार्यक्रमका अवसरमा आयोजित चित्रकला प्रतियोगितामा एडिलेड नेपाली विद्यालय तथा नेपाली पाठशालाका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
प्रतियोगितामा सिनियर समूह (९ वर्षमाथि) मा सुनिधि शाह प्रथम, ड्रिजल बिष्ट र गृष्मा पाण्डे संयुक्त द्वितीय तथा रुबी आचार्य तृतीय भएका थिए।
त्यसैगरी जुनियर समूह (९ वर्षमुनि) मा साभाना पहाडी प्रथम, गायत्री ढुंगाना द्वितीय तथा ब्रिधी गिरी तृतीय भएका थिए।
फेन्काका अनुसार साउथ अष्ट्रेलियामा मात्र सीमित नरही अष्ट्रेलियाका विभिन्न राज्यहरूमा सम्पन्न भएका सगरमाथा दिवसका कार्यक्रमहरूले नेपाली समुदायबीच एकता, सहकार्य र राष्ट्रिय गौरवको भावना अझ मजबुत बनाएको छ। सगरमाथाको प्रेरणा, पुर्खाहरूको ऐतिहासिक उपलब्धि, नयाँ पुस्ताको सिर्जनशीलता र समुदायको सामूहिक शक्तिलाई एकै स्थानमा जोड्न सफल भएको यस वर्षको अन्तर्राष्ट्रिय सगरमाथा दिवसलाई सहभागीहरूले अत्यन्त सफल र स्मरणीय कार्यक्रमका रूपमा लिएका छन्।फेन्काले कार्यक्रम सफल बनाउन सहयोग गर्ने विभिन्न व्यवसायिक संस्था, सामुदायिक संगठन, स्वयंसेवक तथा सहभागीहरूप्रति आभार व्यक्त गरेको छ।
कार्यक्रमको सञ्चालन फेन्का साउथ अष्ट्रेलियाका संयोजक पुष्कर कोइरालाले गरेका थिए। फेन्काले आगामी वर्षहरूमा पनि सगरमाथा दिवसलाई अझ व्यापक, प्रभावकारी र अन्तर्राष्ट्रिय स्तरमा नेपाली समुदायको पहिचान झल्काउने कार्यक्रमका रूपमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।


तपाइँको प्रतिक्रीया