डार्विन। उत्तरी सहर डार्विनमा जुन १३ मा आयोजना हुन लागेको नेपाल महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ।
बुधबार साँझ पत्रकारहरूलाई महोत्सवको तयारीबारे जानकारी दिन आयोजित भर्चुअल भेटघाटमा एनआरएनए नर्दन टेरिटोरीका संयोजक त्रिलोचन सापकोटाले महोत्सवको तयारी ९५ प्रतिशत पूरा भइसकेको जानकारी दिनुभयो। उहाँका अनुसार महोत्सवको उद्घाटन नर्दन टेरिटोरीकी मुख्यमन्त्री लिया फिनोचियारोले गर्नुहुनेछ।
संयोजक सापकोटाले नेपाली भाषा, कला, संस्कृति, पर्यटन तथा नेपाली पहिचानलाई अष्ट्रेलियाका विभिन्न समुदायबीच प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल महोत्सव आयोजना गरिएको बताउनुभयो। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, हिमाल, पहाड र तराईका विविध कला, संस्कृति तथा भेषभूषालाई झल्काउने प्रयासस्वरूप नेपाली परम्परा, चाडपर्व, धर्म र संस्कृतिको जगेर्ना गर्ने उद्देश्य पनि महोत्सवले बोकेको उहाँको भनाइ थियो।
डार्विनमा बसोबास गर्ने नेपाली समुदाय मात्र नभई बहुसांस्कृतिक समुदायको समेत उल्लेखनीय सहभागिता रहने विश्वास व्यक्त गर्दै सापकोटाले करिब ४० प्रतिशत सहभागी गैरनेपाली हुने अनुमान गरिएको बताउनुभयो। गत वर्ष करिब ९ हजार ५ सय जनाले महोत्सव अवलोकन गरेको अनुमान गरिएकोमा यस वर्ष १० देखि १२ हजार दर्शक सहभागी हुने अपेक्षा गरिएको छ।
डार्विन वाटरफ्रन्टमा आयोजना हुने महोत्सवअन्तर्गत दिउँसो २ बजेदेखि नेपाल झल्काउने झाँकीसहित नेपाल परेड गरिनेछ। त्यसपछि २ः३० बजेदेखि ५ बजेसम्म औपचारिक कार्यक्रम सञ्चालन हुनेछ भने साँझ ५ बजेदेखि राति १० बजेसम्म विविध सांस्कृतिक प्रस्तुति रहने कार्यक्रम तय गरिएको छ। राति फायरवर्क्स प्रदर्शनपछि महोत्सव औपचारिक रूपमा समापन गरिनेछ।
पत्रकार भेटघाटमा महोत्सवका लागि नेपालबाट चर्चित कलाकार अर्जुन सापकोटा बिहीबार डार्विन आइपुग्ने जानकारी समेत दिइएको थियो। उहाँले महोत्सवमा सांगीतिक प्रस्तुति दिने कार्यक्रम रहेको छ।
कार्यक्रममा बोल्दै एनआरएनए नर्दन टेरिटोरीका पूर्व संयोजक सञ्जीव गोर्खालीले महोत्सव सफल बनाउन सम्पूर्ण नेपाली समुदाय सक्रिय रूपमा जुटिरहेको बताउनुभयो। सरकारको सहयोग र नेपाली समुदायको सक्रिय सहभागितामा आयोजना हुन लागेको यस महोत्सवले नर्दन टेरिटोरीमा नेपाल र नेपाली समुदायलाई थप परिचित गराउने विश्वास व्यक्त गर्नुभयो।

तपाइँको प्रतिक्रीया