एडिलेड । खेल केवल जित र हारको प्रतिस्पर्धा मात्र होइन, समुदायलाई जोड्ने, मित्रतालाई बलियो बनाउने र नयाँ पुस्तालाई स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्ने सशक्त माध्यम पनि हो। यही विश्वासलाई आत्मसात् गर्दै दक्षिण अष्ट्रेलियामा नेपाली समुदायबीच टेनिस खेलको विकासमा सक्रिय नेपाली टेनिस क्लब अष्ट्रेलिया (NTCA) ले एक वर्षभरिका खेल गतिविधिलाई सम्मान र उत्सवका रूपमा परिणत गर्दै एडिलेडमा विशेष सम्मान तथा रात्रीभोज कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा सन् २०२५–२०२६ अवधिभर सञ्चालन भएका विभिन्न प्रतियोगिताका विजेता, उत्कृष्ट खेलाडी, स्वयंसेवक तथा क्लबको विकासमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। खेलाडीहरूको मेहनत, अनुशासन र समर्पणको कदर गर्दै आयोजित कार्यक्रममा नेपाली समुदायका अगुवा, खेलप्रेमी तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

क्लबद्वारा आयोजित ‘NTCA Singles League 2025’ अन्तर्गत ‘उदयमान खेलाडी (Emerging)’ विधामा दिपेश कुँवर विजेता बन्न सफल भए भने रमेश अधिकारी र सुदिप भण्डारी उपविजेता घोषित भए। त्यसैगरी ‘सिनियर’ विधामा भेष थापा र कृष्ण गुरुङले संयुक्त रूपमा उपाधि जित्दा बलराम भण्डारी उपविजेतामा सीमित भए।
त्यस्तै ‘NTCA Doubles Tournament 2026’ मा राजु के.सी. र दिलिप तामाङको जोडीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्यो। बल्लु भण्डारी र कुमार ढकालको जोडी उपविजेता तथा नबिन कडेल र रेशम गुरुङको जोडी तेस्रो स्थान हासिल गर्न सफल भयो। प्रतियोगिताभर उत्कृष्ट खेल भावना प्रदर्शन गरेबापत उमेश बुढाथोकी र सुदिप भण्डारीको जोडीलाई ‘फेयर प्ले अवार्ड’ प्रदान गरिएको थियो।
खेलाडीहरूलाई थप प्रेरित गर्ने उद्देश्यले क्लबले सात विधामा वार्षिक विशेष अवार्डसमेत प्रदान गरेको छ। ‘Emerging Player of the Year’ बाट सौरभ बिडारी सम्मानित भए भने प्रतिस्पर्धात्मक मनोनयनबीच मोहन श्रेष्ठले ‘Most Improved Player’ अवार्ड हात पारे। खेल मैदानमा सकारात्मक ऊर्जा र प्रेरणा फैलाएको भन्दै दिपेश कुँवरलाई ‘Most Inspiring Player’ तथा निरन्तर समर्पण र प्रतिबद्धताका लागि बल्लु भण्डारीलाई ‘Most Dedicated Tennis Player’ अवार्ड प्रदान गरियो।
त्यसैगरी क्लबका गतिविधिमा निरन्तर स्वयंसेवी भूमिका निर्वाह गरेबापत लोकन गुरुङ ‘Club Volunteer of the Year’ बाट सम्मानित भए भने अनुशासित र उदाहरणीय खेल व्यवहारका लागि उमेश बुढाथोकीलाई ‘Best Sportsmanship’ उपाधि प्रदान गरियो। क्लबको समग्र विकास, नेतृत्व र निरन्तर योगदानको कदरस्वरूप भेष थापालाई यस वर्षको ‘Outstanding Contribution (Valuable Player)’ अवार्डबाट सम्मानित गरिएको थियो।
यस अवसरमा क्लबका संस्थापक अध्यक्ष सुपक अधिकारीलाई क्लब स्थापना र यसको प्रारम्भिक यात्रामा पुर्याएको अतुलनीय योगदानको सम्मानस्वरूप विशेष सम्मान अर्पण गरिएको थियो। सम्मान ग्रहणपछि बोल्दै अधिकारीले केही खेलप्रेमी नेपालीको साझा सपना र सीमित स्रोतबाट सुरु भएको क्लब आज समुदायको भरोसायोग्य खेल संस्थाका रूपमा स्थापित हुन सफल भएको स्मरण गर्नुभयो। उहाँले यो उपलब्धि सम्पूर्ण सदस्य, खेलाडी, स्वयंसेवक र शुभेच्छुकहरूको सामूहिक प्रयासको परिणाम भएको उल्लेख गर्दै आगामी दिनमा पनि टेनिसमार्फत नेपाली समुदायलाई अझ नजिक ल्याउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा क्लबका सल्लाहकार तथा मुख्य प्रायोजक लोन सोलुसनका निर्देशक अशोक अधिकारीले स्थापना कालदेखि नै क्लबसँग सहयात्रा गर्दै आएको उल्लेख गर्दै NTCA ले छोटो अवधिमै हासिल गरेको प्रगतिले आफूलाई गर्व महसुस गराएको बताउनुभयो। उहाँले खेलकुदले समुदायमा अनुशासन, एकता र सकारात्मक सोचको विकास गर्ने भएकाले क्लबप्रतिको आफ्नो सहयोग आगामी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
क्लबका उपाध्यक्ष नबिन कडेलको सभापतित्व तथा पब्लिक अफिसर सुरेन्द्र रेग्मीको सञ्चालनमा सम्पन्न कार्यक्रममा दक्षिण अष्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोगकी सदस्य मञ्जु खड्का, एनआरएनए दक्षिण अष्ट्रेलियाका संयोजक थीर गुरुङ, एडिलेड नेपाली समाजका अध्यक्ष श्याम दाहाल, फेन्का दक्षिण अष्ट्रेलियाका संयोजक पुष्कर कोइराला, संस्थापक अध्यक्ष सुपक अधिकारी, म्यारियन टेनिस क्लबका पूर्वअध्यक्ष नेइगेल डालीलगायतले सम्मानित खेलाडीहरूलाई मायाको चिनो र प्रमाणपत्र प्रदान गर्नुभएको थियो।स्थानीय फ्रेस चुलो रेस्टुरेन्टको सभाहलमा आयोजित कार्यक्रममा क्लबका सचिव बलराम भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। एडिलेड नेपाली विद्यालयका विद्यार्थी तथा क्लब परिवारका सदस्यहरूले प्रस्तुत गरेको सांस्कृतिक कार्यक्रमले समारोहलाई थप उल्लासमय बनाएको थियो।
यसै अवसरमा क्लबले सन् २०२६–२०२७ का लागि तयार गरिएको नयाँ आधिकारिक टी–सर्टसमेत सार्वजनिक गरेको थियो। क्लबका उपाध्यक्ष नबिन कडेल, सल्लाहकार अशोक अधिकारी, सचिव बलराम भण्डारी तथा कोषाध्यक्ष राजु के.सी.ले संयुक्त रूपमा टी–सर्ट सार्वजनिक गर्नुभएको थियो।
कार्यक्रमको समापनसँगै सहभागीहरूले प्रवासमा रहेर पनि नेपाली समुदायलाई खेलमार्फत एकताबद्ध बनाउने, स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने र नयाँ पुस्तालाई खेलप्रति आकर्षित गराउने NTCA को भूमिका प्रशंसनीय रहेको धारणा व्यक्त गरेका थिए। सम्मान, उत्साह र आत्मीयताले भरिएको यो समारोहले एडिलेडमा नेपाली टेनिस समुदायको बढ्दो सक्रियता र उज्ज्वल भविष्यको स्पष्ट संकेत दिएको सहभागीहरूको भनाइ थियो।


तपाइँको प्रतिक्रीया