२०८३ असार २७ शनिवार

नेपालप्रेमी ओलम्पियन कट्रिना वेभ अब ओशिनिया नेपाली स्पोर्ट्स मिटको सद्भावना दूत

  • admin २०८३ असार २७ शनिवार

एडिलेड ,अष्ट्रेलिया — सन् २०२७ मा साउथ अष्ट्रेलियाको एडिलेडमा आयोजना हुने ७औँ ओशिनिया नेपाली स्पोर्ट्स मिट (ONSM SA 2027) ले आफ्नो अन्तर्राष्ट्रिय पहुँचलाई थप सुदृढ बनाउने क्रममा अष्ट्रेलियाकी चर्चित प्यारालिम्पिक स्वर्ण पदक विजेता कट्रिना वेभ (Katrina Webb OAM) लाई प्रतियोगिताको आधिकारिक सद्भावना दूत (Goodwill Ambassador) नियुक्त गरेको छ।

मार्च २५ देखि २८, २०२७ सम्म सञ्चालन हुने ओशिनिया क्षेत्रकै सबैभन्दा ठूलो नेपाली खेलकुद महोत्सवका आयोजकले विश्व खेलकुद क्षेत्रमा स्थापित व्यक्तित्व तथा नेपालसँग लामो समयदेखि आत्मीय सम्बन्ध कायम राख्दै आएकी वेभलाई सद्भावना दूतका रूपमा स्वागत गरेको हो।

कट्रिना वेभ अष्ट्रेलियाको प्यारालिम्पिक इतिहासकी सफल खेलाडीमध्ये एक मानिनुहुन्छ। उहाँले तीन वटा प्यारालिम्पिकमा अष्ट्रेलियाको प्रतिनिधित्व गर्दै स्वर्ण, रजत र कास्य पदक जित्न सफल हुनुभएको छ। खेल जीवनसँगै उहाँ अन्तर्राष्ट्रिय नेतृत्व प्रशिक्षक, फिजियोथेरापिस्ट तथा प्रेरणादायी वक्ताका रूपमा पनि परिचित हुनुहुन्छ। टोकियो २०२० प्यारालिम्पिकका क्रममा उहाँले Seven Network का लागि  खेल संवाददाताको भूमिका पनि निर्वाह गर्नुभएको थियो।

नेपालसँग उहाँको सम्बन्ध केवल औपचारिक छैन। कट्रिना वेभले दुई पटक सगरमाथा आधार शिविरसम्म पदयात्रा गरिसक्नुभएको छ भने नेपालमा नेतृत्व विकास कार्यक्रम सञ्चालन गर्दै स्थानीय समुदायसँग सहकार्य, क्षमता विकास र सामाजिक सेवामा समेत सक्रिय रहँदै आउनुभएको छ। नेपाली संस्कृति, हिमाली जीवनशैली र समुदायप्रतिको उहाँको आत्मीयता लामो समयदेखि परिचित छ।

आयोजक समिति संयोजक विजय जोशीले नेपालप्रति विशेष लगाव राख्ने अन्तर्राष्ट्रिय खेल व्यक्तित्व कट्रिना वेभको सहभागिताले प्रतियोगिताको विश्वसनीयता, प्रतिष्ठा  र अन्तर्राष्ट्रिय पहिचानलाई नयाँ उचाइ दिने विश्वास व्यक्त गर्नुभयो। जोशीका अनुसार प्रतियोगितालाई नेपाली समुदायभित्र मात्र सीमित नराखी अष्ट्रेलियाको बहुसांस्कृतिक समाजसँग जोड्ने रणनीतिअनुसार आगामी दिनमा प्रत्येक खेल विधाका लागि छुट्टाछुट्टै सद्भावना दूत पनि नियुक्त गरिनेछ। यसले खेलकुदमार्फत विभिन्न समुदायबीच सहकार्य, सहभागिता र सांस्कृतिक आदान–प्रदानलाई थप विस्तार गर्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो।

जोशीले ओशिनिया नेपाली स्पोर्ट्स मिट नेपाली डायस्पोराको खेलकुद उत्सव मात्र नभई विभिन्न समुदायलाई एउटै मञ्चमा जोड्ने समावेशी अभियानका रूपमा विकास भइरहेको उल्लेख गर्दै खेलकुदले नेपाली समुदायबीच एकता, नयाँ पुस्तामा नेतृत्व विकास र स्वस्थ प्रतिस्पर्धाको संस्कृतिलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।

ओशिनिया क्षेत्रमा रहेका नेपाली मूलका खेलाडीहरूको प्रतिभा उजागर गर्ने, अन्तरदेशीय सम्बन्ध सुदृढ बनाउने तथा खेलसँगै नेपाली कला, संस्कृति र पहिचानलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना हुँदै आएको ओशिनिया नेपाली स्पोर्ट्स मिट को सातौँ संस्करण पहिलो पटक साउथ अष्ट्रेलियाको एडिलेडमा आयोजना हुँदैछ।

यस संस्करणको मूल नारा “सांस्कृतिक सम्पदाद्वारा एकता, खेलकुदद्वारा प्रेरणा” (United by Heritage. Inspired by Sport.) रहेको छ, जसले खेलकुदलाई प्रतिस्पर्धाको माध्यम मात्र नभई समुदाय, संस्कृति र साझा पहिचान जोड्ने शक्तिका रूपमा स्थापित गर्ने आयोजकको उद्देश्यलाई प्रतिबिम्बित गर्दछ।