२०८२ कातिर्क ३ आइतबार

मेलबर्नको शेप्पार्टनमा जारी नेशन्स कप २०२५ मा नेपाली फुटबल टिम फाइनलमा

  • admin २०८१ माघ १० बिहीबार

अस्ट्रेलिया/ मेलबर्नको शेप्पार्टनमा जारी नेशन्स कप २०२५ मा नेपाली फुटबल टिम फाइनलमा पुगेको छ । अस्ट्रेलियामा विभिन्न १० देशका टिमहरूबीच भएको फुटबल प्रतिस्पर्धामा नेपालले हिजो कंगोलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

नेशन्स कप २०२५ को फाइनल खेलमा नेपाली टिमको प्रवेशले सम्पूर्ण नेपाली खेल प्रेमीहरूलाई गौरवान्वित बनाएको छ। शेप्पार्टनको मैकइवेन रिजर्भ मैदानमा शनिवार साँझ ७:३० बजे अफगानिस्तानसँग हुने यो फाइनल खेल नेपाली खेलाडीहरूका लागि मात्र होइन, सम्पूर्ण नेपाली समुदायको लागि एउटा ऐतिहासिक क्षण बन्नेछ।

फाइनल खेलमा नेपाली दर्शकहरूको समर्थनले शेप्पार्टनलाई नेपालमय बनाउने विश्वास गरिएको छ । फाइनल खेलमा खेलाडीहरूको मेहनत र उत्साहजनक प्रदर्शनलाई हौसला दिन नेपाली झन्डासहितको बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको छ।

नेपाली टिमको प्रतिनिधित्व गरिरहेका सुन्दर कार्कीले बहुसाँस्कृतिक समाजमा नेपाल र नेपाली समुदायको पहिचानलाई सुदृढ गर्न यो खेल महत्त्वपूर्ण भएको बताएका छन्। साथै, उनले नेपाली समुदायलाई मैदानमा उपस्थिति जनाई टिमको मनोबल उच्च बनाउन आग्रह गरेका छन्।

यो टिममा नेपालका चर्चित फुटबलरहरु नेपाली फुटबल टिमका पूर्व कप्तान सागर थापा, सुमन लामा र आशिष लामाले पनि खेलिरहेका छन् । प्रतिभाशाली खेलाडीहरूको उत्कृष्ट प्रदर्शनले नेपाली टिमलाई जितको नजिक पुर्याउने अपेक्षा गरिएको छ।

नेपाली टिमलाई जितको अग्रिम शुभकामना।