२०८२ कातिर्क ३ आइतबार

नेपाल र अष्ट्रेलियाको बक्सिङ खेल, प्रो टाइटलको दौडमा मिलन तामाङ

  • admin २०८१ माघ ११ शुक्रबार

अष्ट्रेलिया / नेपालको प्रतिभाशाली बक्सर मिलन तामाङले बक्सिङमा नयाँ इतिहास रच्ने लक्ष्यसहित अष्ट्रेलियामा आफ्नो प्रस्तुति दिन तयारी गरेका छन् । Muay Thai नामले चिनिने यो खेल आउँदो शनिबार जनवरी २५ का दिन डार्विनमा आयोजना हुने यो प्रतियोगितामा उनले प्रोफेसनल टाइटल जित्ने लक्ष्य राखेका छन्।

यो फाइट सिरिजमा विभिन्न देशका २४ जना खेलाडीहरुले विभिन्न फरक-फरक १२ वटा टाइटलका लागि प्रतिस्पर्धा गर्नेछ। र प्रो टाइटलका लागि नेपाली खेलाडी मिलन तामाङ र अस्ट्रेलियाका खेलाडी इसाया बडातो बीच प्रतिस्पर्धा हुन लागेको हो ।

मिलन तामाङ, जो लामो समयदेखि बक्सिङमा सक्रिय छन्, नेपालको तर्फबाट अन्तर्राष्ट्रिय मञ्चमा चम्कने सम्भावना बोकेका खेलाडी हुन्। आफ्नो मेहनत, लगनशीलता र आत्मविश्वासका कारण उनले नेपालका युवाहरुका लागि प्रेरणाको स्रोत बनेका छन्।

यो प्रतियोगितामा मिलनको प्रतिद्वन्द्वी अष्ट्रेलियाका अनुभवी बक्सर हुन्। प्रतियोगितामा दुबै पक्षबाट उत्कृष्ट प्रदर्शन हुने अपेक्षा गरिएको छ। मिलनले भने, “नेपालको झन्डा अन्तर्राष्ट्रिय स्तरमा फहराउन पाउनु मेरो सबैभन्दा ठूलो गर्व हुनेछ। यो मेरो मात्र नभई सम्पूर्ण नेपालीको जित हुनेछ।”

नेपालको धादिङ स्थायी घर भएका मिलन तामाङ सँगै उनका कोच उमेश गुरुङ पनि यतिबेला डार्विन आइपुग्नु भएको छ । मिलनलाई अस्ट्रेलियासम्म ल्याएर यो फाइट सिरिज खेलाउनका लागि एनआरएनए नर्दन टेरिटोरीका संयोजक सञ्जीव गोर्खाली,एनबी अटोमोटिभ्सका विवेक ढकालले साथ दिनुभएको छ । नेपाली डायस्पोराले मिलनको हौसलाका लागि विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेका छन्।

Muay Thai कस्तो किसिमको खेल हो त?
Muay Thai थाईल्याण्डको परम्परागत लडाकु खेल हो, जसलाई “आठ अङ्गको कला” पनि भनिन्छ। यो खेलमा हात, खुट्टा, कुहिनी र घुँडाको प्रयोग गरिन्छ, जसले गर्दा यो अन्य मार्शल आर्ट्सभन्दा फरक र प्रभावकारी हुन्छ। Muay Thai आत्मरक्षा, प्रतिस्पर्धा, र फिटनेसका लागि विश्वभर लोकप्रिय छ। खेल प्रायः चौकोसे रिङभित्र खेलिन्छ, जहाँ दुई खेलाडीहरूले प्रतिस्पर्धा गर्छन्। Muay Thai म्याच पाँचवटा राउन्डमा खेलिन्छ। हरेक राउन्ड तीन मिनेटको हुन्छ, जसको बीचमा एक मिनेटको विश्राम समय प्रदान गरिन्छ।स्कोरिङ प्रहारको प्रभाव, शैली, र प्रतिद्वन्द्वीलाई गरेको नियन्त्रणका आधारमा हुन्छ। खेलाडीलाई नकआउट (knockout) गरेर वा निर्णयका आधारमा विजयी घोषित गरिन्छ। यो खेल अहिले विश्वभर मार्शल आर्ट्स र फिटनेसका लागि अत्यन्त लोकप्रिय छ। थाईल्याण्डका खेलाडीहरूले यसलाई राष्ट्रिय खेलका रूपमा विकास गरेका छन्, भने अन्य देशका खेलाडीहरूले पनि यसलाई प्रतियोगिता र प्रशिक्षणका रूपमा अंगालेका छन्।

डार्विनमा आयोजना हुने यो खेलमा नेपाली समुदायका साथै अन्य देशका खेलप्रेमीहरुले पनि चासो राखेका छन्। सबैलाई मिलनको उत्कृष्ट प्रदर्शनको प्रतीक्षा छ।
मिलनलाई हाम्रो तर्फबाट जितको शुभकामना!