२०८२ कातिर्क ३ आइतबार

एन्काले पहिलो पटक आयोजना गर्दै महिला क्रिकेट प्रतियोगिता

  • admin २०८१ माघ १५ मङ्गलबार

एडिलेड- नेप्लिज क्रिकेट एशोशियसन (एन्का)ले पहिलो पटक आयोजना गर्न लागेको महिला क्रिकेट प्रतियोगिता फेब्रुअरी १ बाट सुरु हुने भएको छ। प्रतियोगिताका खेलहरू एन्काको घरेलु मैदान फब्स प्राइमरी स्कुलमा साझ ५ बजेबाट सञ्चालन हुने भएको छ। उद्घाटन खेलमा एन्का सनसाइन र एडिलेड पाकिस्तानी मल्टिकल्चर ग्रुप आमनेसामने हुनेछन्।

दोस्रो खेल फेब्रुअरी ८ मा एडिलेड पाकिस्तानी मल्टिकल्चर ग्रुप र विश्व हिन्दु परिषद क्रिकेट क्लबबीच हुनेछ भने तेस्रो खेल फेब्रुअरी १५ मा विश्व हिन्दु परिषद क्रिकेट क्लब र एन्का सनसाइनबीच प्रतिस्पर्धा हुनेछ। समूह चरणबाट उत्कृष्ट प्रदर्शन गर्ने दुई टिम फेब्रुअरी २२ मा हुने फाइनलमा भिड्नेछन्।

एन्का अध्यक्ष विजय जोशीका अनुसार, प्रतियोगिताको मुख्य उद्देश्य महिला खेलाडीहरूमा रहेको प्रतिभा पहिचान गर्दै तिनीहरूलाई प्रिमियर क्रिकेटका लागि प्रेरित गर्नु हो । साथै, बहुसांस्कृतिक समुदायलाई क्रिकेटमार्फत एकताबद्ध गर्ने लक्ष्यले यो प्रतियोगिता आयोजना गरिएको हो।

“क्रिकेट सबैका लागि हो,” अध्यक्ष जोशीले भने। “विगतमा साउथ अस्ट्रेलियन क्रिकेट एसोसिएसनले आयोजना गरेका महिला क्रिकेट प्रतियोगिता केही समयदेखि रोकिएको अवस्थामा, हामीले यो नयाँ प्रयास सुरु गरेका हौं। यस्ता प्रतियोगिताले खेलाडीहरूमा प्रतिस्पर्धात्मक भावना बढाउने र नयाँ प्रतिभा उजागर गर्नेछ।”

अध्यक्ष जोशीले सम्पूर्ण नेपाली समुदायलाई मैदानमा उपस्थित भएर खेलाडीहरूको मनोबल बढाउन आग्रह गरेका छन्। विजयी टिमलाई कप र मेडल प्रदान गरिनेछ। प्रतियोगिताको मुख्य प्रायोजक लिभेबिलिटी केयर अष्ट्रेलिया (एलसीए) रहेको छ।

यो प्रतियोगिता खेलकुदको माध्यमबाट समुदायलाई एकीकृत गर्ने महत्वपूर्ण पहल हो। महिला खेलाडीहरूको प्रतिस्पर्धात्मक क्षमतामा निखार ल्याउनुका साथै, खेलप्रेमीहरूको लागि यो प्रतियोगिता मनोरञ्जनको नयाँ आयाम बन्नेछ। तपाईँहरू पनि फेब्रुअरी १ देखि सुरु हुने यस रोमाञ्चक खेल यात्रामा सहभागी भई खेलाडीहरूलाई हौसला प्रदान गर्न नबिर्सिनुहोस्!