२०८२ कातिर्क ३ आइतबार

एक्सपर्ट एन्का सुपर लिगको उपाधि भीएक्सएल युनाइटेडले जित्यो

  • admin २०८१ फागुन २१ बुधबार

एडीलेड-अस्ट्रेलिया/ नेप्लिज क्रिकेट एसोसिएसन ( एन्का ) द्वारा आयोजित एन्का एक्सपर्ट सुपर लिगको आइतबार क्यलेट रिजर्भ ओभल मैदानमा सम्पन्न फाइनलमा भीएक्सएल युनाइटेडले गत वर्षको विजेता साउदर्न नाइट्स क्रिकेट क्लबलाई ४ विकेटले पराजित गरेको छ ।

भीएक्सएल युनाइटेडले १६४ रनको लक्ष्य ३ बल बाँकी रहँदै ६ विकेट गुमाएर १९.३ ओभरमा पूरा गर्‍यो। भीएक्सएल युनाइटेडका तेश्रो नम्बरका ब्याटर संजय खत्रीले ६० रन बनाएर प्लेयर अफ द म्याच अवार्ड जिते। उनले ४८ बलमा ६ चौका र १ छक्का प्रहार गरेका थिए।

टीमका कप्तान सुनम गौतमले २० बलमा ३० रन बनाएर आक्रामक सुरुवात दिलाए। मध्यक्रममा अंकित श्रेष्ठले २१, प्रवेश थापाले १३, आशिष पोख्रेलले ९ रन योगदान दिए। सुबाश खकुरेल ११ रनमा र प्रमोद बस्नेत ६ रनमा अविजित रहे। प्रमोद बस्नेतले अन्तिममा छक्का प्रहार गर्दै टिमलाई जितसम्म पुर्‍याए।

साउदर्न नाइट्सको बलिंगमा बिक्रम सोब, अनुप भुसाल, राजु गुरुङ र अंकित श्रेष्ठले समान १ विकेट लिएका थिए। यस अघि, साउदर्न नाइट्सले टस जितेर ब्याटिंग गर्दै निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६३ रन बनाएको थियो। बिक्रम सोबले आक्रामक ब्याटिंग गर्दै २५ बलमा ६४ रन बनाएका थिए, जसमा ३ चौका र ७ छक्का समावेश थिए। गोविन्द कार्कीले ३२, संगम गौतमले २२, सागर क्षेत्रीले १८ र प्रसुन थापाले १६ रन बनाएका थिए।

भीएक्सएल युनाइटेडको बलिंगमा आशिष पोख्रेलले ३ विकेट लिए, प्रवेश थापाले २, र संजय खत्री र प्रमोद बस्नेतले समान १ विकेट लिएका थिए।

विजेता भीएक्सएल युनाइटेडलाई सिल्ड, मेडल र ४,००० अस्ट्रेलियन डलर प्रदान गरिएको छ, उपविजेता साउदर्न नाइट्सलाई मेडल र १,००० अस्ट्रेलियन डलर प्राप्त भएको छ। पुरस्कार वितरण साउथ अष्ट्रेलिया सरकारकी पूर्व मन्त्री जिङ ली ले गरेकी थिइन्। खेलाडीहरुलाई मेडल एन्का जेम्सका बालबालिका क्रिकेट खेलाडीहरुले प्रदान गरेका थिए।

कार्यक्रमलाई सम्वोधन गर्दै जिङलीले भने, “यो खेलले समुदायलाई जोड्ने कार्य गर्दछ।” खेलकुद मार्फत समुदायलाई जोड्न एन्काले खेलेको भूमिकाप्रति जिङलीले एन्कालाई धन्यवाद समेत दिनुभएको थियो।
आयोजक एन्काका अध्यक्ष विजय जोशीले फाइनल खेलमा पुगेका दुवै टिमलाई बधाई दिएका थिए। साथै जोशीले एन्कालाई सहयोग गर्नुहुने सबैलाई एकमुष्ट रुपमा धन्यवाद समेत दिएका थिए।

एक्सपर्ट एन्का सुपर लिगले पुरुष खेलाडीहरूलाई प्रिमियर र उच्च स्तरको क्रिकेटमा पुग्न मार्ग प्रशस्त गर्ने उद्देश्य राखेको छ। यस प्रतियोगिताका सबै खेलहरू साउथ अस्ट्रेलिया क्रिकेट एसोसिएसनका आधिकारिक अम्पायरहरूले व्यवस्थापन गरेका थिए।