२०८२ कातिर्क ३ आइतबार

नेपाल फेस्टिवल २०२५ एडिलेडमा भव्य रूपमा सम्पन्न, १५ हजार दर्शकको सहभागिता

  • admin २०८१ फागुन २९ बिहीबार

एडिलेड,अष्ट्रेलिया ।नेपाल फेष्टिभल २०२५ एडिलेडमा मार्च ९ तारिख मा सम्पन्न भएको छ। यस वर्षको नेपाल फेष्टिभलमा लगभग १५,००० दर्शकहरूको सहभागिता देखियो, जसको बारेमा एनआरएन साउथ अष्ट्रेलियाका संयोजक सञ्जय पुरीले जानकारी दिएका थिए। कार्यक्रममा सहभागी भएका सबैलाई धन्यवाद ज्ञापन गर्दै उनले भने, “१५,००० दर्शकहरूको सहभागिता हामीलाई प्राप्त जानकारी अनुसार गरिएको हो। सबैको सक्रिय सहभागिताका लागि हामी आभारी छौं।”

नेपाल फेष्टिभलको आयोजनामा साउथ अष्ट्रेलियाका विभिन्न समुदायका मानिसहरू, नेपालीसँगै, उपस्थिति जनाएका थिए । दर्शकहरूको गर्मीको सन्दर्भमा, दिनभरको कार्यक्रमको समयमा तापक्रम ३६ डिग्री सेल्सियस रहेको थियो, तर त्यसको बाबजुद, दर्शकहरूले नेपाली संस्कृति, संगीत, खाना र पहिरनको उत्सव मनाउने जोश देखाए।

नेपाल फेष्टिभलको औपचारिक उद्घाटन अष्ट्रेलियामा नेपाली राजदूत चित्रलेखा यादव र साउथ अष्ट्रेलियाकी बहुसांस्कृतिक र पर्यटनमन्त्री जोय बेटिसनले संयुक्त रूपमा पानसमा बत्ती बालेर गरेका थिए। यस अवसरमा अष्ट्रेलियाका विभिन्न प्रमुख व्यक्तिहरूको पनि सहभागिता थियो। प्रमुख अतिथि यादव र मन्त्री वेटिसनसँगै एनआरएनए अष्ट्रेलिया अध्यक्ष अनिल पोखरेल, साउथ अष्ट्रेलिया संयोजक संजय पुरी, विपक्षी लिवरल पार्टीका नेता भिन्सेन्ट टार्जिया, बुमर्याङ इन्टरनेशनलका निर्देशक आशिष वाग्ले लगायतका विशिष्ट व्यक्तिहरू उपस्थित थिए।

नेपाल फेष्टिभलमा कन्दरा व्याण्डको हिट संगीत र गायक विवेक श्रेष्ठको देशभक्तिपूर्ण गीतले दर्शकलाई जोशिला बनाएको थियो। विवेक श्रेष्ठको प्रस्तुति पछि, दर्शकहरूले मोबाइलका टर्चहरू बलाएर ऐक्यबद्धता जनाए। यस्तै गायक शिव परियार र गायिका समिक्षा अधिकारीको साङ्गीतिक प्रस्तुतिले पनि उपस्थित दर्शकलाई रमाइलो बनाउन मद्दत पुर्यायो। अष्ट्रेलियामा रहेका नेपाली गायक गायिकाहरुले आफ्ना प्रस्तुति दिएका थिए भने नेपालका विभिन्न भाषाहरुमा गीत र नृत्य प्रस्तुत गरेका थिए ।
यसका अतिरिक्त,यस अधि एडिलेडको पिङ्की फ्ल्याटबाट शुरु भएको नेपाल परेड विभिन्न झाकीहरु सहित एल्डल्स पार्कमा पुगेर सभामा परिणत भएको थियो ।

फेस्टिवलमा ‘नेपाल हाउस’ नाम दिएर छुट्टै स्टल तयार पारिएको थियो। जसमा नेपाल झल्किने सामानहरू राखिएका थिए। गुरुङ, थारू, मगर, तामाङ, नेपाल लगायत नेपाली परम्परागत संस्कृतिको झलक त्यहाँ थियो। नौमती बाजाको सेटसहित अन्य आदिवासी समुदायले प्रयोग गर्ने सांगीतिक साधन त्यहाँभित्र थिए।नेपाल हाउसको प्रवेशद्वारमै बनाइएको थियो विवाह मण्डप। तस्बिर खिच्न मिल्नेगरी थियो ‘आँखीझ्याल’। बौद्ध स्तुपा, धरहराको अगाडि फोटो खिच्नेको भीड नै थियो। अर्को आकर्षण थियो- नेपालमा मात्र पाइने एकसिङ्‌गे गैँडा। गैँडाको मूर्ति वास्तविक आकारमा तयार पारिएको थियो र यसको छेवैमा गैँडाको बच्चाको पनि,फेस्टिवलमा यहाँ जीवन्त नेपाल देख्न सकिन्थ्यो। कार्यक्रमको अर्को आकर्षण नेपाली ‘फुड स्टल’ थियो। जहाँ नेपाली स्वादका खानेकुराहरू राखिएका थिए।

नेपाल फेष्टिभल अष्ट्रेलियामा प्रत्येक दुई वर्षमा आयोजना हुन्छ। यस पटक २०२४ मा सिड्नी र पर्थमा नेपाल फेष्टिभल भइसकेका छन्। साउथ अष्ट्रेलियामा सम्पन्न भएको यो कार्यक्रम नेपाल फेष्टिभलको पाँच शहरमा आयोजना गरिएका कार्यक्रमहरूको एक हिस्सा हो। अब नर्दन टेरेटोरीमा आगामी जुन महिनामा नेपाल फेष्टिभलको आयोजना हुने तयारी छ।

अष्ट्रेलियामा रहेका नेपालीहरूका लागि यो एक सांस्कृतिक पर्वको रूपमा चिनिन थालेको छ, जसले परदेशी भूमिमा आफ्नो मुलुकको संस्कृतिको संरक्षण र प्रवर्धन गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ।