२०८२ माघ २ बिहीबार

तास्मानिया राज्यको राजधानी होबार्टमा यही मार्च २९ मा भव्य रुपमा नेपाल महोत्सव २०२५ हुँदै

  • admin २०८१ चैत ६ बिहीबार

तास्मानिया,अस्ट्रेलिया /अस्ट्रेलियाको तास्मानिया राज्यको राजधानी होबार्टमा यही मार्च २९ मा भव्य रुपमा नेपाल महोत्सव २०२५ आयोजना हुने भएको छ। नेपाली कला, संस्कृति र परम्परालाई प्रवर्द्धन गर्दै नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यका साथ महोत्सवको तयारी तीव्र रुपमा भइरहेको छ।

एनआरएनए तास्मानियाका राज्य संयोजक जगदिश खड्काका अनुसार, यो महोत्सवलाई तास्मानियाको स्थानीय सरकार, होबार्ट सिटी काउन्सिल, तथा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूको सहकार्यमा सम्पन्न गरिनेछ। तास्मानियन मल्टिकल्चरल काउन्सिल र स्थानीय व्यवसायिक संघहरूको समेत विशेष सहयोग रहने बताइएको छ।

महोत्सवमा नेपाली संगीत, नृत्य, खानाका परिकारहरू, परम्परागत कलासंस्कृति, र विविध प्रदर्शनहरू रहनेछन्। नेपाल फेस्टिभल तास्मानिया २०२५ का सांस्कृतिक संयोजक विष्णु थपलियाका अनुसार, नेपाली बाजागाजा सहित र्याली गरिनेछ भने मादल, बाँसुरी र सारंगीको धुनले होबार्ट शहर गुञ्जिनेछ। साथै, नेपाली स्वादका परिकारहरूका स्टलहरू र प्रदर्शनीहरू पनि रहनेछन्। महोत्सवमा नेपालका चर्चित कलाकारहरू कन्दरा ब्यान्ड, युवराज चौलागाईं, समीक्षा अधिकारी र उदेश श्रेष्ठले सांगीतिक प्रस्तुति दिने भएका छन्। स्थानीय नेपाली कलाकारहरूलाई पनि विशेष प्राथमिकता दिइएको छ।

महोत्सवलाई व्यवस्थित बनाउन ५० देखि ७० जना स्वयंसेवक परिचालित गरिने योजना छ। राष्ट्रिय युवा फोरम तास्मानियाका कोषाध्यक्ष अस्मिन घिमिरेका अनुसार, सुरक्षाका लागि आपतकालीन सहायता केन्द्र, प्राथमिक उपचार टोली (First Aid), तथा भीड व्यवस्थापनसम्बन्धी विशेष योजना लागू गरिनेछ।

एनआरएनए तास्मानियाका उप संयोजक उत्तम अधिकारीका अनुसार, महोत्सवको अनुमानित बजेट ८० हजारदेखि १ लाख अष्ट्रेलियन डलरसम्म रहेको छ। Aussie Finance and Home Loan Tasmania ले मुख्य प्रायोजन गरेको छ भने Expert Education and Visa Services Tasmania तथा Brighton Short Courses Tasmania सह-प्रायोजकका रूपमा रहेका छन्।

महोत्सवमा तास्मानियाका प्रीमियर जेरेमी रकलीफ प्रमुख अतिथि रहनेछन् भने विशेष अतिथि रूपमा अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादव, लेबर सांसद एला हेडेड, लिबरल सांसद म्याडेलिन ओगील्भी, र ग्रीन पार्टीकी सांसद हेलेन बर्नेटको समेत उपस्थिति रहनेछ। संयोजक खड्काका अनुसार, यो महोत्सव नेपाली समुदायका लागि मात्र नभई स्थानीय अष्ट्रेलियनहरू तथा अन्य समुदायहरूका लागि पनि खुला रहनेछ। आयोजकले नेपाली र अंग्रेजी भाषामा प्रचार-प्रसार गर्दै विभिन्न सामाजिक सञ्जालमार्फत महोत्सवको प्रचार गरिरहेको छ। संयोजक खड्काका अनुसार, महोत्सवमा नेपाली कला, संस्कृति र खानाका माध्यमबाट नेपाललाई प्रवर्द्धन गर्दै कम्तीमा १० जना अष्ट्रेलियन पर्यटकलाई नेपाल भ्रमणमा जान प्रेरित गर्ने लक्ष्य राखिएको छ।

होबार्टको केन्द्रमा अवस्थित पार्लियामेन्ट हाउस लनमा आयोजना हुने यस महोत्सवले नेपाली कला-संस्कृति र पहिचानलाई प्रवर्द्धन गर्दै दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

होबार्टमा नेपाल महोत्सवका लागि निःशुल्क बस सेवा

नेपाल महोत्सव २०२५ मा सहभागिता सुनिश्चित गर्न आयोजकहरूले Launceston बाट Hobart तथा फर्किने यात्राका लागि निःशुल्क बस सेवाको व्यवस्था गरेका छन्। यस बस सेवा मार्च २९, २०२५ का दिन बिहान ६:४५ बजे Dan Murphy Launceston Car Park बाट प्रस्थान गर्नेछ र बेलुका ९:०० बजे फर्कने समय निर्धारण गरिएको छ। नेपाल महोत्सवमा नेपाली कला, संस्कृति र परम्परालाई प्रवर्द्धन गर्दै नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने प्रयासस्वरूप यो बस सेवा प्रदान गरिएको हो। आयोजकहरूले सबै नेपाली समुदायलाई महोत्सवमा उपस्थित भई नेपाली संस्कृतिको प्रवर्द्धनमा सहभागी हुन अनुरोध गरेका छन्।

बस सेवाको लागि सम्पर्क व्यक्तिहरूको विवरण निम्नानुसार छ: सृजा पोखरेल – 0437 885 325 /अनोज भण्डारी – 0460 778 862