एडिलेड,अस्ट्रेलिया – अस्ट्रेलियामा आयोजित २०२५ को भुटानी भलिबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। यस प्रतियोगितामा साउथ अष्ट्रेलियाका नौ पुरुष टोली र दुई महिला टोलीहरूको भाग लिएको थियो। यस वर्षको प्रतियोगितामा बेलडाँगी टिम २ ले उत्कृष्ट प्रदर्शन गर्दै पुरुष तर्फको उपाधि जितेको छ भने बेलडाँगी १ ले महिला तर्फको उपाधि जित्न सफल भएको छ।
पुरुष तर्फको फाइनलमा,बेलडाँगी २ ले बेलडाँगी हन्टर्स लाई निर्णायक ३-० सेटको जित हासिल गर्दै पुरुष तर्फको उपाधि जितेको छ । महिला तर्फको फाइनलमा बेलडाँगी १ र बेलडाँगी २ बीचको रोमाञ्चक प्रतिस्पर्धा देखियो। यस प्रतिस्पर्धामा बेलडाँगी १ ले २-१ सेट मा बेलडाँगी २ लाई निर्णायक जित हासिल गर्दै महिला च्याम्पियनशिप सुरक्षित गर्यो। खेलको उत्कृष्टता र सहकार्यको उदाहरण प्रस्तुत गर्दै, बेलडाँगी १ ले आफ्नो नामको उपयुक्तता प्रमाणित गर्यो।
प्रतियोगितामा जित हासिल गरेका विजेता र उपविजेताहरुलाई नगद पुरस्कार सहित विभिन्न पुरस्कारहरू प्रदान गरियो । पुरुष र महिला दुवै तर्फका विजेतालाई क्रमशः $१,००० र $५०० नगद पुरस्कार, ट्रफी, प्रमाणपत्र र कुखुराको भाले प्रदान गरिएको थियो। साथै, उत्कृष्ट खेलाडीलाई व्यक्तिगत पुरस्कार पनि दिइएको थियो।
पुरस्कार वितरण कार्यक्रममा टिआरजी सेवा प्रा. लि. का निर्देशक श्री राज सिलवाल र कार्यक्रम प्रबन्धक श्री अम्बर पौडेलले उपस्थित भएर पुरस्कार वितरण गरेका थिए।
यस प्रतियोगितासँगै आयोजित राफलले पनि र खेलाडी र उपस्थित दर्शकहरूलाई उत्साह थपेको थियो। धनमान राईले २४ क्यारेट सुनको सिक्री पहिलो पुरस्कारको रूपमा जिते भने बुद्धिमान राईले देउराली रेस्टुरेन्टबाट $५० को खाना भौचर प्राप्त गरे। त्यस्तै टीका भट्टराईले मोडर्न फेसन स्टोरबाट $३५ को उपहार कार्ड जिते।
कार्यक्रममा अस्ट्रेलियाली ड्रुक भलिबल क्लबका अध्यक्ष कृष पौडेलले कार्यक्रमको सफलता र भाग लिएका सबै खेलाडीहरूका लागि कृतज्ञता व्यक्त गर्दै आगामी बर्षको प्रतियोगिता अझै राम्रो बनाउनका लागि सुझाव सङ्कलन गर्ने योजनाहरू रहेको बताए।
क्लबका सदस्य श्री मौसम घलेले युवाहरूलाई भलिबलमा संलग्न गराउन र सामुदायिक स्वास्थ्य र कल्याणको प्रवर्धनमा खेलकुदको भूमिका महत्वपूर्ण रहेको बताएका थिए। उनीहरूले क्लबको प्रतिबद्धता प्रकट गर्दै, सामुदायिक बीच मैत्रीपूर्ण र समावेशी वातावरण सृजनाका लागि निरन्तर प्रयास गर्ने विश्वास व्यक्त गरे।
यस कार्यक्रमले अस्ट्रेलियामा रहेका भुटानी समुदायको खेलकुदमा सक्रियता र समावेशी भावना थपेको छ। खेलको माध्यमबाट समुदायलाई एक जुट गर्ने र भविष्यमा अझ ठूलो सफलता हासिल गर्ने उद्देश्यले क्लबले नयाँ दिशा प्रस्तुत गरेको छ।
तपाइँको प्रतिक्रीया