२०८२ कातिर्क ३ आइतबार

सिड्नीमा स्वर्ण विजेता एरिका गुरुङ सहित खेलाडी तथा अफिसियलहरू सम्मानित

  • admin २०८१ चैत २८ शुक्रबार

सिड्नी, अष्ट्रेलिया — अष्ट्रेलियन ओपन कराँते च्याम्पियनसिप २०२५ मा स्वर्ण पदक विजेता नेपाली खेलाडी एरिका गुरुङसहित प्रतियोगितामा सहभागी अन्य खेलाडी तथा अफिसियलहरूलाई सिड्नीमा एक विशेष समारोहबीच सम्मान गरिएको छ।

सम्मान कार्यक्रम तमु समाज सिड्नीको समन्वयमा आयोजना गरिएको हो, जसमा न्यु साउथ वेल्स राज्यका नेपाली वाणिज्यदूत सञ्जिव शर्मा प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। वाणिज्यदूत शर्माले पदक विजेता खेलाडीहरूलाई प्रमाणपत्र, खादा र सम्मानपत्र प्रदान गर्दै नेपाल र नेपाली समुदायको प्रतिष्ठा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने कार्यमा उनीहरूको योगदान अतुलनीय रहेको उल्लेख गर्नुभयो।

समारोहमा एरिका गुरुङसँगै अष्ट्रेलियन ओपन कराँते प्रतियोगितामा उल्लेखनीय प्रदर्शन गरेका अन्य खेलाडी र अफिसियलहरूलाई पनि सम्मान गरियो। उपस्थित वक्ताहरूले खेल क्षेत्रमार्फत नेपाली युवाहरूले देखाएको सम्भावना र क्षमता प्रशंसा गर्दै, आगामी दिनहरूमा अझ ठूलो सफलता हासिल गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा सिड्नीस्थित नेपाली समुदायका अगुवा, खेलप्रेमी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति उल्लेखनीय रहेको थियो।