अष्ट्रेलिया-अष्ट्रेलियामा हुण्डीको नाममा दर्जनौं नेपालीहरूलाई ठगी गर्ने एक नेपाली भरत केसीको आप्रवासी स्थायी बसोबास अनुमति (Permanent Residency – PR) अष्ट्रेलियाली सरकारले रद्द गरेको छ। आर्थिक अपराधमा संलग्न ठहरिएपछि उनलाई भिक्टोरिया राज्यको अदालतले सन् २०२२ मार्च २१ तारिखका दिन तीन वर्ष १० महिना जेल सजाय सुनाएको थियो । अदालतको फैसलापछि गृह मन्त्रालयले आप्रवासन ऐन अन्तर्गत थप कारबाही गर्दै उनको पीआर अधिकार खारेज गरेको हो।
४३ वर्षीय ती नेपाली भरत केसीले कम्तीमा २० जना नेपालीहरूसँग हुण्डीमार्फत नेपाल पैसा पठाइदिने भन्दै झन्डै २ लाख २० हजार अष्ट्रेलियन डलर (झन्डै २ करोड नेपाली रुपैयाँ) संकलन गरेका थिए। तर ती व्यक्तिले रकम न त नेपाल पठाए, न त पीडितहरूलाई फिर्ता गरे। पीडितहरूले प्रहरीमा उजुरी दिएपछि घटना सार्वजनिक भएको थियो।
भिक्टोरिया प्रहरीले गरेको अनुसन्धानमा ती व्यक्तिले विश्वासको दुरुपयोग गर्दै नेपाली आप्रवासीहरूबाट नगद संकलन गरी अनौपचारिक प्रणाली (हुण्डी) प्रयोग गर्ने नाममा रकम हिनामिना गरेको पुष्टि भएको थियो। अदालतले उनीमाथि “गंभीर आर्थिक ठगी” गरेको अभियोगमा दोषी ठहर गर्दै ३ वर्ष १० महिनाको कैद सजाय सुनाएको हो।
अदालतको फैसलापछि अष्ट्रेलियाली गृह मन्त्रालयले सार्वजनिक सुरक्षा र आप्रवासन ऐन अनुसार उनीमाथि स्थायी बसोबास अधिकार खारेज गरेको जनाएको छ।
अष्ट्रेलियाली कानुनअनुसार कुनै पनि स्थायी बासिन्दा (PR Holder) यदि गम्भीर अपराधमा दोषी ठहर भएमा, सरकारसँग उनको स्थायी बासोबास अनुमति रद्द गर्ने अधिकार रहन्छ। यस्ता अपराधमा आर्थिक ठगी, घरेलु हिंसा, लागुऔषध कारोबार, बालबालिका वा कमजोर वर्गमाथिको दुर्व्यवहार लगायतका मुद्दा पर्दछन्। अदालतले सुनाएको आदेशमा साढे दुई वर्षसम्म कुनैपनि जमानत स्वीकार नगरिने सजाय थियो । अदालतको यो निर्णयपछि उनको स्थायी बसोबास अनुमति पत्र अर्थात् पीआर स्वतः खारेज भएको थियो । अष्ट्रेलियामा १२ महिनाभन्दा बढी सजाय हुने अपराधमा संलग्न भएको अवस्थामा यस्ता आप्रवासीहरुको पीआर रद्द गर्दै उनीहरुलाई देशनिकाला गर्ने नियम यहाँको अध्यगमन कानूनमा छ । ठगी गरेको आरोपमा पक्राउ परेका केसीले डिपोर्ट रोक्नका लागि दिएको निवेदन खारेज भएको छ ।
यस घटनापछि अष्ट्रेलियामा रहेका नेपाली समुदायबीच ठगी, हुण्डी र गैरकानुनी वित्तीय कारोबारप्रति गम्भीर चिन्ता बढेको छ। अष्ट्रेलियाली अधिकारीहरू तथा समुदायका अगुवाहरूले वैधानिक माध्यमबाट मात्र रकम कारोबार गर्न र कुनै पनि अवैध प्रस्ताव वा व्यक्तिबाट सचेत रहन सुझाव दिएका छन्। अष्ट्रेलियामा गैरकानुनी हुण्डी कारोबार मात्र अपराध होइन, यसले गर्दा आप्रवासन स्थिति समेत जोखिममा पर्न सक्छ भन्ने चेतावनी अधिकारीहरूले दिएका छन्।
पीडितहरूले लामो समयदेखि खोजी गरिरहेका न्याय अन्ततः अदालतको निर्णयमार्फत पाएका छन्। तर, ठगीबाट गुमेको रकम फिर्ता पाउने सम्भावना न्यून देखिएको छ।

तपाइँको प्रतिक्रीया