एडिलेड,अष्ट्रेलिया —ओशिनिया क्षेत्रमा रहेका नेपाली समुदायको खेलकुदको महाकुम्भ मानिने ओशिनिया नेपाली स्पोर्ट्स मिट मा सहभागी हुन साउथ अष्ट्रेलियाको प्रतिनिधित्व गर्ने क्रिकेट टोली पर्थ प्रस्थान गर्न तयारी अवस्थामा रहेको छ।
एडिलेड नेप्लीज क्रिकेट एशोसिएसन (ANCA) ले टोलीको घोषणा गर्दै यो वर्षको प्रतियोगितामा गत संस्करणको विजयी इतिहास दोहोर्याउने लक्ष्य लिएको छ। एन्का अध्यक्ष विजय जोशीका अनुसार, टोलीको कप्तानी नेपाली खेलक्षेत्रमा परिचित नाम सुनम गौतमलेगर्नेछन् भने, उपकप्तानको जिम्मेवारी अनिल खरेलले सम्हाल्नेछन्।
१३ सदस्यीय टोलीमा समावेश खेलाडीहरू गोविन्द कार्की, दीपक क्षेत्री, प्रमेश गिरी, अंकित श्रेष्ठ, अनुप भुसाल, अमित ज्ञवाली, आशिष पोखरेल, सुशन भारी, संगम गौतम, सुवास खकुरेल, संजय खत्री, र मनिश खकुरेल रहेका छन्। टोलीको व्यवस्थापन संयोजनको जिम्मेवारी दिपेन न्यौपानेले सम्हाल्नेछन्।
यस वर्षको प्रतियोगिता पर्थस्थित ब्रिटानिया रोड रिजर्भ, वेस्ट लिडरभिल मा हुनेछ। क्रिकेट प्रतिस्पर्धा अप्रिल १८ बाट सुरु भई अप्रिल २० मा फाइनल खेल हुने कार्यक्रम तय गरिएको छ।
एन्का अध्यक्ष जोशीले हालै सम्पन्न एन्का सुपर लिगमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई समेटेर वर्तमान टोली निर्माण गरिएको जानकारी दिए। खेलाडीहरूको छनोट प्रतिस्पर्धात्मक र पारदर्शी भएको पनि उनले बताए।
राष्ट्रिय अनुभव बोकेका कप्तान सुनम गौतमले अघिल्लो वर्ष नेपाल प्रिमियर लिग (NPL) अन्तर्गत पोखरा टिमबाट र उपकप्तान अनिल खरेलले विराटनगरबाट खेलिसकेका छन्। उनीहरूको अनुभवले टोलीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
ओशिनिया नेपाली स्पोर्ट्स मिट के हो?
यो स्पोर्ट्स मिटलाई अष्ट्रेलिया, न्यूजिल्याण्ड र आसपासका देशहरूमा रहेका नेपालीहरूको ‘ओलम्पिक’ मानिन्छ। खेलाडीहरूबीच भाइचारा, संस्कृति र प्रतिभाको उत्सवका रूपमा यसले नेपाली डायस्पोरालाई एक सूत्रमा बाँध्ने काम गर्दै आएको छ।
तपाइँको प्रतिक्रीया