सिड्नी, अष्ट्रेलिया। गैरआवासीय नेपाली संघ (एनआरएन) अष्ट्रेलिया युथ फोरमको आयोजना तथा एन्फा अष्ट्रेलिया र गोर्खा नेप्लीज कम्युनिटीको सहकार्यमा सम्पन्न एनआरएन कप फुटबल प्रतियोगितामा फेवा फुटबल क्लबले शानदार सफलता हात पारेको छ।
प्रतिस्पर्धात्मक रुपमा सम्पन्न फाइनल खेलमा फेवा फुटबल क्लबले सेन्टजर्ज नेप्लीज फुटबल क्लबलाई टाइब्रेकरमा ६–५ गोल अन्तरले पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाएको हो।
२४ टिम सहभागी भएको प्रतियोगितामा प्रत्येक टिममा ६ खेलाडी रहेका थिए। समग्रमा १४४ खेलाडीको सहभागिताले प्रतियोगितालाई आकर्षक बनाएको थियो। विजेता फेवा फुटबल क्लबले उपाधिसँगै ४ हजार अष्ट्रेलियन डलर नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता सेन्टजर्ज नेप्लीज फुटबल क्लबले २ हजार डलरमा चित्त बुझाउनुपरेको छ।
समापन समारोहमा एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले विजेता र उपविजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरे। कार्यक्रममा फोर नेशन्स ईन्टरनेशनलका निर्देशक तथा एन्का अध्यक्ष कोमल पाठक, युथ फोरम संयोजक सुमन बोहरा, गोर्खा नेप्लीज कम्युनिटी अध्यक्ष राजीव प्रधान, एनआरएन अष्ट्रेलियाका पूर्व उपाध्यक्ष देव गुरुङ र एन्फा अष्ट्रेलियाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
प्रतियोगिताको सफल संयोजन गोर्खा नेप्लीज कम्युनिटीको तर्फबाट सन्दीप रावलले गरेका थिए। यस किसिमको प्रतियोगिताले अष्ट्रेलियामा रहेका नेपाली युवा माझ एकता, सहकार्य र खेलकुदको माध्यमबाट आपसी सम्बन्ध थप प्रगाढ बनाउन ठूलो टेवा पुर्याएको आयोजकलेआयोजक संस्थाहरूले विश्वास लिएका छन्।
तपाइँको प्रतिक्रीया